भारतले नेपालसँग रहेका सीमा सम्बन्धी बाँकी विषयहरू स्थापित द्विपक्षीय संयन्त्रमार्फत नै टुंग्याइने स्पष्ट गरेको छ। नयाँ दिल्लीले सीमा मामिलालाई दुई देशबीचको विषयका रूपमा व्याख्या गर्दै कुनै तेस्रो पक्षको संलग्नता स्वीकार्य नहुने दोहोर्याएको हो।
नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपाल–भारत सीमाको करिब ९८ प्रतिशत सीमाङ्कन कार्य पूरा भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार गण्डक नदीले धार परिवर्तन गरेपछि केही क्षेत्रमा सीमाको रेखांकनसम्बन्धी विषय अझै समाधान हुन बाँकी छन्।
उहाँले सीमाङ्कन सम्पन्न भइसकेका केही स्थानमा समेत सीमा वारपार कब्जा तथा दशगजा क्षेत्र अतिक्रमणका घटना देखिएकाले त्यस्ता स्थानको संयुक्त नक्साङ्कनको काम भइरहेको बताउनुभयो।
नेपालका प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयबाट हालै सार्वजनिक भएका सीमासम्बन्धी अभिव्यक्तिबारे सोधिएको प्रश्नमा जयसवालले नेपाल–भारत सीमा विषय पूर्ण रूपमा द्विपक्षीय रहेको उल्लेख गर्नुभयो। यस्ता विषयमा कुनै तेस्रो पक्षको भूमिका नरहने र सम्बन्धित सबै पक्षले यो तथ्य बुझ्न आवश्यक रहेको उहाँको भनाइ थियो।
सीमासम्बन्धी प्राविधिक तथा कूटनीतिक विषय समाधानका लागि प्रभावकारी द्विपक्षीय संरचना सक्रिय रहेको बताउँदै उहाँले विद्यमान संयन्त्रमार्फत बाँकी विषयहरू सम्बोधन गरिने विश्वास व्यक्त गर्नुभयो।
प्रवक्ता जयसवालले नेपाल र भारतबीचको सम्बन्ध केवल सरकारस्तरमा सीमित नभई राजनीतिक दल र जनस्तरसम्म फैलिएको उल्लेख गर्नुभयो। पछिल्ला उच्चस्तरीय भ्रमण तथा निरन्तर संवादले दुई देशबीचको सम्पर्क र सहकार्यलाई अझ बलियो बनाएको उहाँको भनाइ थियो।
दुवै देशबीचका सक्रिय कूटनीतिक संयन्त्रले बाँकी सीमासम्बन्धी प्रश्नहरू समाधानतर्फ अगाडि बढाउने अपेक्षा गरिएको छ।