चीनमा सरकारी तथ्यांक र श्रमिकको वास्तविक आर्थिक अवस्थाबीचको खाडल फराकिलो बन्दै गएको छ। कागजमा रोजगारी कायम रहे पनि व्यवहारमा काम र आम्दानी गुमाएका श्रमिकको संख्या बढेपछि त्यहाँको श्रम बजारको दिगोपनामाथि नयाँ प्रश्न उठेका छन्।

चीनका प्रमुख राज्यनियन्त्रित संस्थानहरूको वार्षिक प्रतिवेदनले व्यापक जनशक्ति कटौती भएको देखाएका छन्। यी कटौतीपछि कम्पनीको दरबन्दीबाट हटेका कर्मचारीहरू कुन अवस्थामा छन् भन्ने स्पष्ट नहुँदा आर्थिक असुरक्षा थप बढेको छ।

चीनको राष्ट्रिय तथ्यांक ब्यूरोको मानकअनुसार सर्वेक्षण गरिएको सातामा कम्तीमा एक घण्टा ज्याला वा नाफाका लागि काम गर्ने व्यक्तिलाई रोजगार मानिन्छ। अर्कातर्फ, विगत तीन महिनामा सक्रियतापूर्वक काम खोजेको र दुई हप्ताभित्र काम सुरु गर्न तयार रहेको व्यक्तिलाई मात्र बेरोजगार सूचीमा राखिन्छ।

ADVERTISEMENT Max Tiger INLINE

यी मानकहरू अन्तर्राष्ट्रिय अभ्यासअनुरूप भए पनि यसले 'स्ट्यान्डबाइ' वा निष्क्रिय राखिएका कामदारलाई समेट्न सक्दैनन्। सम्झौता थामिए पनि नियमित जिम्मेवारी खोसिएका यस्ता कर्मचारीहरू गम्भीर आर्थिक क्षति व्यहोर्न बाध्य छन्।

हालैका आधिकारिक विवरणअनुसार १६ देखि २४ वर्ष उमेर समूहका विद्यार्थीबाहेक युवाको बेरोजगारी दर १८.९% पुगेको छ। त्यस्तै ३० देखि ५९ वर्ष उमेर समूहका व्यक्तिको बेरोजगारी दर मार्चको ४.३% बाट घटेर जुलाई र अगस्टमा ३.९% मा झरेको छ। तर यी अंकहरूले निष्क्रिय बनाइएका श्रमिकको वास्तविक संख्या देखाउन सक्दैनन्।

श्रम बजारको वास्तविक अवस्था बुझ्न बेतलबी बिदा, घटेको कार्यघण्टा र आम्दानीमा आएको गिरावटबारे पारदर्शी विवरण सार्वजनिक हुनुपर्ने आवश्यकता देखिएको छ। अन्यथा, तथ्यांकमा देखिने स्थिरताले श्रमिकको वास्तविक आर्थिक सुरक्षालाई प्रतिनिधित्व गर्न सक्दैन।