नेपाल र भारतबीचको संसदीय कूटनीति तथा द्विपक्षीय हितका विविध पक्षमा बिहीबार सिंहदरबारमा छलफल भएको छ। प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटघाट गर्नुभएको हो।

भेटका क्रममा सभामुख अर्यालले जनताको बलियो जनमतसहित बनेको नयाँ सरकारले आफ्नो कार्यकालको पहिलो १०० दिन पूरा गरेको जानकारी दिनुभयो। उहाँले हालै सम्पन्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न भारत सरकारले पुर्‍याएको महत्त्वपूर्ण लजिस्टिक सहयोगप्रति विशेष धन्यवाद समेत प्रकट गर्नुभयो। नेपाल र भारतको सम्बन्ध भौगोलिक निकटता, साझा सभ्यता र सामाजिक-सांस्कृतिक पक्षसँग जोडिएको उल्लेख गर्दै सभामुख अर्यालले व्यापार, जलस्रोत, सुरक्षा, नागरिक उड्डयन तथा कनेक्टिभिटीका क्षेत्रमा रहेका संयन्त्रहरूले यसलाई थप मजबुत बनाएको धारणा राख्नुभयो।

संसदीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउनका लागि प्रतिनिधिसभामा विपिन आचार्यको संयोजकत्वमा १० सदस्यीय नेपाल-भारत संसदीय मैत्री समूह गठन गरिएको जानकारी सभामुख अर्यालले गराउनुभयो। यो समूहको सक्रियताले दुई देशका संसद्बीचको सहकार्यलाई अझ गतिशील बनाउने विश्वास उहाँले व्यक्त गर्नुभयो।

सो अवसरमा राजदूत श्रीवास्तवले भारतको लोकसभाका सभामुख ओम बिरला नेपाल भ्रमण गर्न इच्छुक रहेको सन्देश सुनाउनुभयो। उहाँले नेपालका सभामुख तथा सांसदहरूलाई भारतको संसदीय अभ्यास र प्रणालीबारे अध्ययन एवं अवलोकनका लागि भारत भ्रमणको निमन्त्रणा समेत दिनुभयो। उच्चस्तरीय राजनीतिक संवाद र संसदीय कूटनीतिले दुई देशको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइ दिने बताउँदै राजदूत श्रीवास्तवले ऊर्जा, व्यापार, शिक्षा, कनेक्टिभिटी र जनस्तरको सम्बन्ध विस्तारमा भारत सधैं सँगै रहने प्रतिबद्धता जनाउनुभयो।