झापा–५ मा रहेका हजारौँ भूमिहीन तथा अव्यवस्थित बसोबासी परिवारको समस्या समाधान गर्ने लक्ष्यसहित राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा प्रतिनिधिसभा उम्मेदवार बालेन्द्र शाह (बालेन)ले समयबद्ध योजना सार्वजनिक गर्नुभएको छ।
सोमबार सार्वजनिक गरिएको झापा केन्द्रित बाचापत्रमा रास्वपा सरकार गठन भएको १०० दिनभित्र अधिकार सम्पन्न आयोग गठन गरी एक हजार दिनभित्र समस्या समाधान गर्ने नीति अवलम्बन गरिने उल्लेख गरिएको छ।
अनौपचारिक तथ्यांकअनुसार झापा–५ मा करिब १२ हजार परिवारका तीन हजार पाँच सय व्यक्ति भूमिहीन तथा अव्यवस्थित बसोबासीका रूपमा रहेका छन्। जिल्लाभर भने ५० हजार सात सयभन्दा बढी परिवार यस्तो अवस्थाबाट प्रभावित रहेको उल्लेख छ।
झापा–५ अन्तर्गत दमक नगरपालिकामा ६ हजार ३४६, गौरादहमा २ हजार ६६०, गौरीगञ्जमा २ हजार १४६ र कमल गाउँपालिकामा ८१८ परिवार भूमिहीन वा अव्यवस्थित बसोबासीका रूपमा रहेका छन्।
भूमि व्यवस्थापनलाई प्राथमिकता दिँदै उहाँले बाँझो जमिनको सदुपयोग र चक्लाबन्दी प्रवर्द्धनका लागि भूमि बैंक स्थापना गर्ने योजना पनि अघि सार्नुभएको छ। ऐलानी जग्गाको व्यवस्थापन तथा अभिलेखविहीन जमिनको नापी–नक्सा कार्य सम्पन्न गरिने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
साथै, दमक भ्यूटावर सञ्चालनमा ल्याउने विषय पनि बाचापत्रमा समावेश गरिएको छ। निर्वाचन अभियान तीव्र बन्दै जाँदा झापा–५ मा भूमिसम्बन्धी मुद्दा केन्द्रमा राखिएको देखिन्छ।