काठमाडौं। अमेरिकी प्रतिनिधिमण्डलका प्रमुख सांसद, संसदीय कर्मचारी र सैन्य प्रतिनिधिहरूसहितको १६ सदस्यीय टोली भुटानको पारोबाट भुटान एअरलाइन्सको चार्टर्ड उडान (बी ३७७१०) मार्फत हिजो काठमाडौं आइपुगेको छ। यो उच्चस्तरीय भ्रमणको औपचारिक उद्देश्य अझै सार्वजनिक नभए पनि दक्षिण एसियाली क्षेत्रमा अमेरिकी कुटनीतिक संलग्नताका दृष्टिले यसलाई अर्थपूर्ण मानिएको छ।
भ्रमणकारी टोलीमा अमेरिकी तल्लो सदन प्रतिनिधि सभाका सदस्यहरू, तिनका परिवार, संसदीय समितिका सदस्यहरू, व्यापार नीति सल्लाहकारहरू र अमेरिकी जलसेना तथा मरीन कर्प्सका प्रतिनिधिहरू सहभागी छन्। प्रतिनिधिमण्डलमा सांसद जेसन थोमस स्मिथ, सांसद डेभिड शेरिडान श्वाइकर्ट र उनकी पत्नी जोइस रेबेका श्वाइकर्ट, सांसद एलिस मेरी स्टेफानिक, तथा सांसद विलियम एन्ड्र्यु ओगल्स चौथो र उनकी पत्नी मोनिका विलियम्स ओगल्स रहेका छन्।
त्यसैगरी, टोलीमा सांसद लोइस सिरिल फ्रैन्केल, हाउस कमिटी अन वेज एन्ड मिन्सका स्टाफ डाइरेक्टर म्याथ्यु पोल मेयर, हाउसका माइनोरिटी ट्रेड काउन्सिल सुङ-युन च्याङ, हाउसका डिजिटल डाइरेक्टर पेसन सेमुअल, अन्तर्राष्ट्रिय व्यापार नीति सल्लाहकार हिलारी मार्गरेट पाइनगर र मेम्बर सर्भिसेज कोअर्डिनेटर लोगान रिचर्ड डोबिन्स सामेल छन्। सैन्य तथा चिकित्सा तर्फ नेभी हाउस लियाजो अफिसका लेफ्टिनेन्ट जोसुवा लोवेल एन्डरसन, मरीन हाउस लियाजो अफिसकी सानोन एलेन गोअन (विधायी मामिला सचिवकी विशेष सहायक) र वाल्टर रिड मेडिकल सेन्टरकी क्यामिल कोस्टन-वेयर पनि टोलीमा रहेका छन्।
काठमाडौं अवतरण गरेलगत्तै उक्त टोलीलाई विमानस्थलमा अमेरिकी दूतावासका कार्यवाहक राजदूत मेगन बोल्डिन, राजनीतिक तथा आर्थिक शाखा प्रमुख क्याथरिन एम. लिही र राजनीतिक मामिला विशेषज्ञ जोर्जिया एस. वाट्सले स्वागत गरेका थिए। विमानस्थलबाट हिजो बिहान ११:३० बजे कूटनीतिक नम्बर प्लेटका दुईवटा सवारी साधन प्रयोग गरी टोली सिधै महाराजगञ्जस्थित अमेरिकी दूतावासतर्फ प्रस्थान गरेको थियो।
यस भ्रमणबारे अमेरिकी दूतावास वा नेपाल सरकारका तर्फबाट हालसम्म कुनै आधिकारिक विवरण सार्वजनिक नगरिएकाले आगामी दिनमा हुने सम्भावित उच्चस्तरीय राजनीतिक भेटघाटतर्फ सबैको ध्यान केन्द्रित भएको छ।