साउदी अरबस्थित अरामको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा साउदी सुरक्षा निकायले खसालेको ड्रोनको अवशेष खस्दा एक नेपालीसहित दुई जनाको ज्यान गएको छ। संयुक्त अरब इमिरेट्स (युएई) को सीमा नजिकै रहेको शैबह तेल क्षेत्रलाई लक्षित गरी आएको ड्रोनलाई बीच बाटोमै निष्प्रभावी पारिएपछि खसेको टुक्राले उक्त दुर्घटना गराएको साउदी ऊर्जा मन्त्रालयले पुष्टि गरेको छ।

बुधबार भएको यस घटनामा नेपाल र फिलिपिन्सका एक-एक नागरिकको मृत्यु भएको छ भने एक भारतीय र एक पाकिस्तानी नागरिक घाइते भएका छन्। ड्रोनको अवशेष खस्दा तेल उत्पादन केन्द्रमा भौतिक क्षति पुग्नुका साथै परिसरमा रहेको ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागी भएको थियो।

ADVERTISEMENT Nepal Aaja Register

साउदी अरबको विदेश मन्त्रालयले बिहीबार रियादस्थित नेपाली दूतावासलाई घटनाबारे औपचारिक जानकारी गराएको छ। मृतक नेपाली नागरिकको पहिचान खुलाउन र आवश्यक कानुनी प्रक्रिया पूरा गरी शव स्वदेश ल्याउने विषयमा कूटनीतिक पहल अगाडि बढाइएको छ।