पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको वरिष्ठ नेताका रूपमा औपचारिक पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै सक्रिय राजनीतिमा पुनरागमन गर्नुभएको छ।
काठमाडौँमा सुरु भएको एमाले स्थायी कमिटी बैठकका क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई शपथ गराउनुभएको हो।
वरिष्ठ नेतामा मनोनीत भएपछि भण्डारी पहिलोपटक पार्टीको शीर्ष कार्यकारी निकायको बैठकमा सहभागी हुनुभएको हो। यसअघि असोज ८ गते बसेको सचिवालय बैठकले उहाँलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको थियो, जसलाई पछि केन्द्रीय कमिटी बैठकले सर्वसम्मतिले अनुमोदन गरेको थियो।
मूलुकको राष्ट्रपति बन्नुअघि भण्डारी एमालेको उपाध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो। केन्द्रीय कमिटीको निर्णयसँगै उहाँले वरिष्ठ उपाध्यक्ष तथा शीर्ष नेताको हैसियतमा स्थायी कमिटीको कार्यसूचीमा भाग लिनुभएको छ।
औपचारिक शपथ ग्रहणसँगै एमालेभित्र भण्डारीको यो नयाँ भूमिकाले आगामी राजनीतिक दिशा र सांगठनिक निर्णयहरूमा महत्त्वपूर्ण प्रभाव पार्ने देखिएको छ।