लामो समयदेखि तीव्र आर्थिक वृद्धि हासिल गर्दै आएको चिनियाँ अर्थतन्त्र हाल उत्पादन र उपभोग दुवै क्षेत्रमा परेको मन्दीको मार झेल्न बाध्य भएको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र मानिएको चीनमा उपभोक्ता मूल्य वृद्धिदर लगातार सुस्त भइरहेको छ।
गएको जुलाई महिनामा चीनको उपभोक्ता मूल्य सूचकाङ्क (सीपीआई) केवल 0.5 प्रतिशतले मात्र बढेको छ। यो अघिल्लो छ महिनायताकै सबैभन्दा सुस्त वृद्धि हो भने लगातार तेस्रो महिनाको गिरावट पनि हो। अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढ्दा पनि चीनभित्र यसको प्रभाव नपर्नुले आन्तरिक माग अत्यन्तै कमजोर रहेको पुष्टि गर्दछ।
घरजग्गा क्षेत्र र निजी बजारको शिथिलता
चीनको आर्थिक मन्दी अल्पकालीन नभई संरचनात्मक समस्याहरूसँग जोडिएको छ। वर्षौंदेखि ऋणमा आधारित पूर्वाधार निर्माण, निर्यात र घरजग्गा कारोबारमा निर्भर रहँदै आएको आर्थिक मोडल अहिले सङ्कटग्रस्त बनेको छ। ठूला घरजग्गा व्यवसायीहरू टाट पल्टिएपछि लाखौँ सर्वसाधारणको लगानी जोखिममा परेको छ।
सम्पत्तिको मूल्य घट्दा नागरिकहरूको क्रयशक्ति र मनोबल कमजोर बनेको छ। युवा बेरोजगारी उच्च रहनु र ज्याला वृद्धि रोकिनुले सर्वसाधारणलाई बचततर्फ धकेलेको छ। भविष्यप्रतिको अन्योलका कारण मानिसहरूले खर्च कटौती गर्दा बजारमा वस्तुहरूको बिक्री ठप्प प्राय: भएको छ।
सरकारी हस्तक्षेप र लगानीकर्ताको चिन्ता
चिनियाँ कम्युनिस्ट पार्टीले प्रविधि, शिक्षा र निजी क्षेत्रका अन्य व्यवसायहरूमाथि लागू गरेको कडा नियमनले लगानीकर्ताको विश्वास घटाएको छ। राज्य नियन्त्रित उद्योगहरूलाई प्राथमिकता दिइँदा रोजगारी सिर्जना गर्ने निजी कम्पनीहरू ओझेलमा परेका छन्।
यसका साथै, चीनमा तीव्र रूपमा भइरहेको जनसंख्याको वृद्धावस्था र घट्दो कार्यबलले समस्यालाई थप जटिल बनाएको छ। सार्वजनिक ऋणको भार बढ्दै जाँदा स्थानीय सरकारहरू वित्तीय दबाबमा परेका छन्।
उत्पादन क्षमता मजबुत भए तापनि सर्वसाधारणको मनोबल बढाउने र आन्तरिक खपत बढाउने ठोस नीति नल्याएसम्म चीनलाई यो आर्थिक चक्रबाट बाहिर निस्कन सहज नहुने देखिन्छ।