प्रतिनिधिसभामा प्रतिपक्षी दलहरूको विरोधको शैलीका सन्दर्भमा सभामुखले गरेको व्यवहारमाथि नेपाली कम्युनिस्ट पार्टीले प्रश्न उठाएको छ। विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिमाथि लगातार प्रश्न उठाउँदै जवाफ मागिरहेका छन्। सांसदहरूले प्रधानमन्त्रीसँग जवाफ माग गर्ने सन्दर्भमा आएको विरोधको शैली फेर्न सभामुखले विपक्षी दलहरूलाई आग्रह गरेपछि यो विवाद सतहमा आएको हो।

सभामुखको उक्त आग्रहप्रति आपत्ति जनाउँदै नेपाली कम्युनिस्ट पार्टीका सांसद प्रमेशकुमार हमालले संसद्मा प्रश्न उठाउनुभएको छ। आज सभामुख महोदयले आन्दोलनको रूप फेर्नको निमिक्त भन्नुभयो, उहाँले किन भन्नुसक्नुभएन प्रधानमन्त्रीज्यू यहीँ आएर क्लियरीफाइ गर्नु भनेर सांसद हमालले भन्नुभयो। विपक्षी दलहरूले प्रधानमन्त्रीउपर उठेको विषयमा सभामुखले जवाफ दिने गरी रुलिङ गर्नुपर्ने माग समेत राख्दै आएका छन्।

ADVERTISEMENT Nepal Aaja Register

राष्ट्रियताको सन्दर्भमा आफूहरू अडिग रहेको र प्रधानमन्त्रीको जवाफ नआएसम्म विरोध जारी राख्ने सांसद हमालले स्पष्ट पार्नुभएको छ। गत सत्र जेठमा प्रधानमन्त्री बालेनले प्रतिनिधिसभामा सांसदहरूका प्रश्नको जवाफ दिने क्रममा भारतले नेपालको जग्गा मात्र नभई नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि विपक्षीहरूले कि तथ्य दिनुपर्ने वा माफी माग्नुपर्ने माग गर्दै लगातार विरोध गरिरहेका छन्।

संसद्मा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले सात दिनभित्र दिनुपर्ने र प्रतिनिधिसभा नियमावली अनुसार प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने प्रावधान रहेको छ। यस घटनाले संसदीय मर्यादा र संसद्प्रतिको सरकारी जबाफदेहिता सुनिश्चित गर्ने सन्दर्भमा व्यवस्थापिका र कार्यपालिकाबीच बढ्दै गएको असमझदारीलाई संकेत गर्दछ।