काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका एक युवकको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपाली रहेका छन् । शरीरको करिब ६० प्रतिशत भाग जलेर गम्भीर घाइते भएका उनको वीर अस्पतालमा उपचार भइरहेको थियो ।
काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले नेपालीको उपचारको क्रममा निधन भएको जनाएका छन् । यद्यपि, अस्पताल प्रशासनले भने यस सम्बन्धमा औपचारिक जानकारी दिन बाँकी रहेको छ ।
वीर अस्पतालका प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालका अनुसार आगोले नेपालीको अनुहार, टाउको, घाँटीलगायत शरीरका महत्वपूर्ण भागमा गम्भीर क्षति पुर्याएको थियो । अस्पताल ल्याइएलगत्तै उनको श्वासप्रश्वासमा समस्या देखिएकाले आकस्मिक कक्षमै इन्टुबेसन गरी भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
नेपालीको उपचारमा वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियूष दाहालको नेतृत्वमा २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको थियो । उक्त टोलीमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्माण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीहरू सहभागी थिए ।
नेपालीले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । घटनालगत्तै उनलाई उद्धार गरी उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो ।
अस्पताल प्रशासनबाट औपचारिक विवरण सार्वजनिक भएपछि यस घटनाको थप कानुनी तथा प्रशासनिक प्रक्रिया अगाडि बढ्ने देखिन्छ ।