ग्रामीण समाजको जीवन्त कथा समेटेर निर्माण गरिएको नेपाली चलचित्र गौथली आगामी असार १७ गते (जुलाई १) देखि प्रदर्शनमा आउने भएको छ। निर्माण पक्षले शुक्रबार चलचित्रका दुईवटा आकर्षक पोस्टरहरू सार्वजनिक गर्दै यसको प्रदर्शन मिति र विषयवस्तुबारे औपचारिक जानकारी दिएको हो।
सार्वजनिक गरिएका पोस्टरहरूले चलचित्रको केन्द्रीय द्वन्द्व र सामाजिक परिवेशलाई प्रस्ट्याएका छन्। पहाडी क्षेत्रको विपन्न परिवारको पृष्ठभूमिमा आधारित यो चलचित्रले विशेषगरी महिलाको संघर्ष र इच्छाशक्तिलाई मुख्य विषय बनाएको संकेत मिल्छ।

पहिलो पोस्टरमा मुख्य कलाकारहरू अरुण क्षेत्री र सिम्रन खड्कालाई वैवाहिक पहिरनमा प्रस्तुत गरिएको छ। दुबै कलाकारलाई दुलाहा र दुलहीको भूमिकामा प्रस्तुत गर्दै चलचित्रको मुख्य पारिवारिक पाटोलाई उजागर गरिएको छ।
यसैगरी, दोस्रो पोस्टरमा अभिनेत्री सिम्रन खड्कालाई मात्र स्थान दिइएको छ। पोस्टरमा उनी डोकोमा दाउरा बोकेर हिँडिरहेकी छन् तर उनको हातमा पुस्तक देख्न सकिन्छ। यसले विवाहपछि पनि घरायसी जिम्मेवारी सम्हाल्दै आफ्नो पढाइको सपनालाई मर्न नदिने एक दृढ संकल्पित महिलाको कथालाई प्रतिविम्बित गर्छ।
चलचित्रमा स्थापित तथा दिग्गज कलाकारहरूको बाहुल्यता रहेको छ। अरुण र सिम्रनका साथमा वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रविन्द्र झा, ईश्वरी बराल, संयोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपालीको मुख्य भूमिका रहेको छ। यस्तै बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।
चलचित्रको लेखन प्रक्रियामा ठूलो टिमले सहकार्य गरेको छ। डा. भोला रिजालको कथामा तयार भएको यस चलचित्रको पटकथा तथा संवाद लेखन निर्देशक डा. कपिल रिजालले निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेसँग मिलेर तयार पारेका हुन्।
भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यस चलचित्रको कार्यकारी निर्माता सरला रिजाल हुन्। यस्तै सुमन गिरी र डा. कपिल रिजाल निर्माताका रूपमा रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माता हुन्।
चलचित्रमा वरिष्ठ संगीतकार शम्भुजीत बास्कोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको छ भने एलिस कार्कीले पार्श्व संगीत (ब्याकग्राउन्ड स्कोर) तयार पारेका छन्। हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रलाई रिच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्नेछन्। चलचित्रको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ।
यो चलचित्रसँग नेपाली सिनेमाको एउटा ऐतिहासिक साख पनि जोडिएको छ। करिब दुई दशकअघि डा. भोला रिजालले नै गौथली नामक चलचित्र निर्माण गरेका थिए, जसलाई नेपालको पहिलो सफल सांगीतिक चलचित्र (गीती फिल्म) मानिन्छ र यसले ५१ दिनसम्म प्रदर्शनको कीर्तिमान बनाएको थियो। अहिले सोही नाममा बन्न लागेको नयाँ चलचित्रलाई उनका छोरा डा. कपिल रिजालले निर्देशन गरेका हुन्।