अस्ट्रेलियाको सांगीतिक भ्रमणमा रहेका चर्चित गायक अनिल सिंहले अत्यधिक धूम्रपानका कारण आफ्नो खुट्टा गुमाउनुपर्ने गम्भीर अवस्था सिर्जना भएको खुलासा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत एक भावुक भिडियो सन्देश सार्वजनिक गर्दै सिंहले चिकित्सकले खुट्टा नै काट्नुपर्ने चेतावनी दिएको जानकारी दिएका हुन्।
सिंहका अनुसार खुट्टामा असह्य समस्या देखिएपछि अस्पतालमा गरिएको पूर्ण शारीरिक परीक्षणबाट अत्यधिक धूम्रपान नै रोगको मुख्य कारक रहेको पुष्टि भएको हो। विगतमा दैनिक चारदेखि पाँच बट्टासम्म चुरोट सेवन गर्ने गरेका उनले चिकित्सकको कडा सुझावपछि हाल दैनिक दुई खिल्लीमा झारेको र नियमित औषधि सेवन गरिरहेको बताएका छन्।
नेपालमा उपचार गराइरहेकै बेला स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनी सांगीतिक कार्यक्रमका लागि अस्ट्रेलिया पुगेका थिए। छोटो समयमै अस्ट्रेलियाको भिसा प्राप्त हुनुलाई जीवनको चमत्कार मानेका सिंहले तास्मानियाको प्रस्तुतिमा दर्शकबाट प्राप्त मायाले आफूलाई निकै ऊर्जा मिलेको उल्लेख गरेका छन्।
विगतमा स्वास्थ्यप्रति गरेको लापरबाहीका कारण यो अवस्था आएको स्वीकार्दै उनले यसमा अरू कसैलाई दोष दिन नमिल्ने स्पष्ट पारेका छन्। उनले उपचारमा संलग्न चिकित्सक डा. दीपेश शाक्यसहित अस्ट्रेलिया भ्रमणमा सँगै रहेका गायक प्रकाश सपूत र गायिका रचना रिमालले आफ्नो विशेष हेरचाह गरेको भन्दै कृतज्ञता व्यक्त गरेका छन्।
अस्ट्रेलियाको एडिलेडमा हुने आगामी सांगीतिक कार्यक्रमपछि सधैँका लागि धूम्रपान त्याग्ने प्रण गर्दै सिंहले स्वदेश फर्किने घोषणा गरेका छन्। जीवन रहेसम्म संगीत साधनामै सक्रिय रहने प्रतिबद्धतासहित उनले आफ्नो शीघ्र स्वास्थ्यलाभका लागि सम्पूर्ण शुभचिन्तकसँग प्रार्थना गरिदिन आग्रह गरेका छन्।