सरकारले जेन्जी आन्दोलनका क्रममा दर्ता भएका सीमित मुद्दा मात्र फिर्ता लिन लागेको आशंकाबीच पोखरामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा पीडित परिवार र अधिकारकर्मीहरूले पूर्ण न्यायको माग गरेका छन्। जेन्जी आन्दोलन मुद्दा सम्बोधन दबाब समूहको आयोजनामा पोखरा-३, तेर्सापट्टीस्थित पोखरा सेन्ट्रल ओसिसमा सम्पन्न उक्त कार्यक्रममा सहभागीहरूले राजनीतिक प्रकृतिका सम्पूर्ण मुद्दा खारेज नगरिए आन्दोलन थप सशक्त बनाइने चेतावनी दिएका छन्।

विगत एक वर्षदेखि राष्ट्रिय स्तरमा मुद्दा फिर्ताको अभियान सञ्चालन गर्दै आएका जेन्जी अगुवाहरू सरिश्मा थापा र मोनिका निरौलाले आन्दोलनमा सहभागी भएकै कारण थुनामा रहेका व्यक्तिहरूलाई तत्काल रिहा गरिनुपर्नेमा जोड दिए। उनीहरूका अनुसार सम्झौता अनुसार मुद्दा फिर्ता र बन्दी रिहाइका लागि निरन्तर सार्वजनिक बहस र प्रशासनिक दबाब कायम राख्नु अनिवार्य बनेको छ।

कार्यक्रममा थुनामा रहेका बन्दीका आफन्तहरूले आफ्ना पारिवारिक व्यथा र भोग्नु परेका सास्तीबारे सञ्चारकर्मीहरूसमक्ष विवरण प्रस्तुत गर्दै सम्बन्धित निकायलाई गम्भीर बन्न आग्रह गरे। दबाब समूहका अध्यक्ष खली थापा, उपाध्यक्ष विवेक नाल्मी, सहसचिव शान्ति साइ र नागरिक अभियन्ता चन्द्रबहादुर गुरुङले आन्दोलनका क्रममा सरकारसँग भएका १० बुँदे सम्झौता अक्षरशः पालना गराउन दबाबमूलक अभियान जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

समूहका सचिव राजन श्रेष्ठले निष्पक्ष पत्रकारिताका माध्यमबाट पीडितको आवाज सार्वजनिक गर्न सहयोग पुर्‍याएकोमा सञ्चारकर्मीहरूप्रति आभार व्यक्त गरे। आयोजकहरूले सम्झौता बमोजिम सबै माग पूरा नभएसम्म राज्यका निकायहरूलाई निरन्तर खबरदारी गरिरहने स्पष्ट पारेका छन्।