नेपाली समाजमा ठगिँदा वा अखाद्य वस्तु पाउँदा पनि 'भैगो त नि' भन्दै चुपचाप सहने र उजुरी नगर्ने परिपाटी बाक्लो छ। तर, उपभोक्ता जागरुक हुँदा आफ्ना अधिकार कसरी सुरक्षित हुन्छ भन्ने उदाहरण हालैको दसैँको महानवमीका दिन काठमाडौँमा देखियो। गत अक्टोबर २०, २०२६ का दिन घरमा कोही नभएको र लामो यात्राको कडा थकानका बीच बुढानीलकण्ठ बस्ने डेल्टा (नाम परिवर्तन) विमानस्थलबाट पठाओ गाडी बुक गरी घर पुगेका थिए। थकानले गलिएका उनले साँझ पठाओ फुडमार्फत अर्डर गरेर बालुबाटारको सुल्तान बिर्यानि बाट चिकेन बिर्यानि मगाए। तर, घरमा आइपुगेको खाना सर्वथा अखाद्य, बासी र दुर्गन्धित थियो। प्रायः मौन बस्ने आम नेपालीभन्दा फरक शैली अपनाउँदै डेल्टाले तुरुन्तै पठाओ फुडको ग्राहक सेवामा कडा गुनासो दर्ता गराए। केही बेरको कुराकानी र वस्तुस्थिति पुष्टि भएपछि पठाओ फुडले आफ्नो गल्ती स्वीकार गर्दै सो गन्हाउने खानाको सम्पूर्ण रकम ग्राहकलाई फिर्ता गरिदियो।

चाडबाडको मौका छोपेर अनलाइन खाना आपूर्तिकर्ता र रेस्टुरेन्टहरूले उपभोक्तालाई भ्रममा पार्ने खेल पनि उत्तिकै फस्टाएको छ। विशेषगरी दसैँ-तिहार जस्ता पर्वका बेला खानाको वास्तविक मूल्यलाई तीन गुणासम्म बढाएर देखाउने र त्यसमा ५० प्रतिशत छुटको लोभलाग्दो विज्ञापन गर्ने होडबाजी नै चल्ने गरेको छ। यस्ता आकर्षक छुटको पछाडि खानाको न्यूनतम गुणस्तरसमेत कायम नहुने, धेरै दिन अघिदेखि फ्रिजमा थुपारेर राखिएका बासी तथा अखाद्य परिकार ग्राहकलाई पठाउने परिपाटी मौलाउँदा सोझा उपभोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भइरहेको छ।
उपभोक्ता ठगिने अर्को घटना अंग्रेजी नयाँ वर्ष २०२६ को पूर्वसन्ध्या अर्थात् न्यू इयर इभका दिन एउटा रेस्टुरेन्टमा घट्यो। खाना खाइसकेपछि अल्फा (नाम परिवर्तन) ले आफ्ना परिवारका सदस्यहरूलाई खुसी पार्ने अपेक्षासहित घरका लागि 'पनीर बटर मसला' पार्सल अर्डर गरे। खुसीसाथ घर पुगेर प्याक खोल्दा भने परिवार एकाएक अचम्ममा पर्यो—ग्रेभीमा मसला र अरू सबै थोक त थियो, तर मुख्य परिकार पनीर नै गायब थियो। सम्भवतः नयाँ वर्षको भीडभाड र भान्साको अस्तव्यस्तताका कारण सेफ वा कुकले ग्रेभीमा पनीर हाल्नै बिर्सेका थिए। ग्राहकले तुरुन्तै फोन गर्दा काउन्टरको रिसेप्सनले गल्ती स्वीकार गरे पनि भान्साका कर्मचारीले भने आफ्नो गल्ती मान्न पटक्कै तयार भएनन्। त्यसबेला रेस्टुरेन्ट पक्षले अर्को पटक आउँदा मिलाएर राम्रो पनीर बटर मसला बनाइदिने बाचा त गर्यो, तर त्यस समयमा तत्काल कुनै क्षतिपूर्ति नदिई अर्को पटक रेस्टुरेन्ट जाँदा सो माग सम्बोधन हुन सक्ने सम्भावना मात्र बाँकी राखियो।

काठमाडौँको बुढानीलकण्ठस्थित प्रसिद्ध 'संगम स्विट्स' को सेवा र गुणस्तरमा परेको नकारात्मक असर पनि उपभोक्ता अधिकारको दृष्टिले चिन्ताजनक देखिन्छ। बुढानीलकण्ठस्थित यो मिष्ठान्न भण्डार पुरानो ठाउँबाट सरेर नयाँ ठाउँमा सञ्चालनमा आएको छ। पुरानो ठाउँमा छँदा संगम स्विट्सका नियमित ग्राहक रहेका अल्फाले पैसा तिर्ने क्रममा खानाको औसत गुणस्तरबारे रिसेप्सनमा प्रतिक्रिया दिएका थिए। कमलपोखरीको मुख्य शाखामै उत्कृष्ट स्वाद पाइने तर बुढानीलकण्ठ शाखामै किन यस्तो कमजोरी भनी सोध्दा क्यासियरले "खाना सबै कमलपोखरीबाटै बनेर आउने हो, हामी त तताएर मात्र दिने हो" भन्ने गैरजिम्मेवार जवाफ दिएका थिए। पछि नयाँ ठाउँमा सरेपछि अर्को पटक जाँदा काउन्टरमा अंग्रेजी लबज भएकी महिला क्यासियर बसेकी थिइन्। त्यहाँ अल्फाले उपलब्ध परिकारबारे सोधेर मसला दोसा अर्डर गरे, तर सँगै रहेका साथीले दोसाको सट्टा समोसा र चाट भनिदिए। संवादमा अस्पष्टता भएपछि टेबलमा मसला दोसा, चाट र समोसा सबै आइपुग्यो। बनिसकेको खाना खेर नजाओस् भनेर ग्राहकले सो खाना स्वीकार त गरे, तर खान थालेपछि दोसाको साम्बार र चाटको मटरको तरकारी पूर्ण रूपमा गन्हाइसकेको पाइयो।

खाना गनाएको र अखाद्य भइसकेको भए पनि संगम स्विट्सले ग्राहकबाट त्यसको पूरा पैसा असुल गर्यो। काउन्टरका कर्मचारीले खाना बिहानै बनाएकाले बासी भएको स्वीकार गरे पनि दुर्गन्धित भइसकेको तथ्यलाई भने जबरजस्ती अस्वीकार गरे। ठूलो धनराशि लगानी गरेर भौतिक पूर्वाधार स्तरोन्नति गर्नुका साथै होटलसमेत सञ्चालनमा ल्याएको संगम स्विट्सको सेवाबाट ग्राहकहरू भने चरम असन्तुष्ट र निराश बन्न पुगेका छन्। स्मरण रहोस्, संगम स्विट्सको खानाको गुणस्तरलाई लिएर धेरै वर्ष पहिले पनि परिकारभित्र साङ्लो भेटिएको गम्भीर गुनासो आएको थियो, जसले गर्दा यसको ब्रान्ड र व्यवस्थापनमाथि पटक-पटक प्रश्नचिह्न खडा हुँदै आएको छ।
नेपालको खाद्य बजारमा व्यवसायीहरूको यस्तो लापरबाही र उपभोक्ताको स्वास्थ्यमाथिको खेलबाड नयाँ भने होइन। केही दशकअघि काठमाडौँको न्यूरोडस्थित चर्चित 'टिपटप' को समोसाभित्र मरेको मुसा भेटिएको घटनाले देशभर ठूलो हलचल मच्चाएको थियो। काठमाडौँको प्रख्यात व्यापारिक केन्द्रमा रहेको लोकप्रिय मिष्ठान्न भण्डारमै यस्तो अखाद्य र विभत्स मिसावट भेटिएपछि उपभोक्ता अधिकार र खाद्य सुरक्षाबारे देशव्यापी बहस छेडिएको थियो। उक्त घटना यति चर्चित र चासोको विषय बनेको थियो कि वरिष्ठ हास्यकलाकार दीपकराज गिरीको लोकप्रिय हास्य टेलिफिल्म 'तितो सत्य' मा समेत समोसाभित्र मुसा भेटिएको प्रसङ्गलाई लिएर व्यङ्ग्यात्मक ढाँचामा विशेष दृश्य प्रसारण गरिएको थियो।