काठमाडौँ। जेन-जी पुस्ताकी चर्चित नेत्री जस्मिन ओझाले भारतीय पूर्वराजदूत रन्जित रेसँगको कूटनीतिक भेटघाटलगत्तै प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकार कुमार बेनमाथि सामाजिक सञ्जालमार्फत तिखो व्यङ्ग्य प्रहार गरेकी छिन्। प्रधानमन्त्री बालेनको भ्रमणपूर्व भएको र कूटनीतिक वृत्तमा अर्थपूर्ण मानिएको उक्त भेटघाटपछि ओझाले सार्वजनिक गरेको एक तस्बिर र स्टाटसले यतिबेला सामाजिक सञ्जाल तथा राजनीतिक वृत्तमा तरङ्ग पैदा गरेको छ।
प्राप्त जानकारीअनुसार नेत्री ओझाले प्रधानमन्त्री बालेनको भ्रमणअगावै गत बुधबार अर्थात् २०८३ साल मङ्सिर २ गते बिहान ठिक १०:३० बजे भारतीय पूर्वराजदूत रन्जित रेसँग विशेष भेटवार्ता गरेकी थिइन्। होटल एम्बासडरको पहिलो तल्लामा अवस्थित कूटनीतिक रेस्टुरेन्टमा भएको उक्त भेटघाटलाई समसामयिक राजनीति र कूटनीतिक सम्बन्धका दृष्टिले निकै चासोका साथ हेरिएको छ।
पछिल्लो समय विभिन्न उटपट्याङ तथा बचपनापूर्ण गतिविधिहरूमा संलग्न रहँदै आएका प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनलाई लक्षित गर्दै ओझाले उक्त भेटघाटको तीन दिनपछि हिजो मङ्सिर ५ गते दिउँसो उही शैलीमा व्यङ्ग्यात्मक जवाफ फर्काएकी हुन्। काठमाडौँको अनामनगरस्थित एक रेस्टुरेन्टमा आफ्ना साथीहरूसँग बसेकी ओझाले टेबलमा चारवटा मोबाइल फोन लहरै राखेर पाँचौँ मोबाइलबाट तस्बिर खिचाएकी थिइन्। सोही तस्बिर आफ्नो फेसबुक अकाउन्टमा पोस्ट गर्दै उनले लेखेकी छिन्, "यता आँखा नलगाउनु नि फेरि !"
बेनका उटपट्याङ क्रियाकलापको प्रतिउत्तरमा जस्मिनले पनि सोही शैली अपनाउँदै टेबलमा सजाएका चारवटा मोबाइल र लेखेको अर्थपूर्ण क्याप्सनलाई आम सर्वसाधारण तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सीधा र तिखो व्यङ्ग्यका रूपमा बुझेका छन्। उनको यो पोस्ट सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको छ। यो समाचार तयार पार्दासम्म उक्त पोस्टमा ३०५ वटा लाइक र ९१ वटा प्रतिक्रिया आइसकेका छन्, जहाँ अधिकांशले उनको शैलीमाथि विभिन्न कोणबाट टिप्पणी गरिरहेका छन्।
सुन्दर, बौद्धिक र मिजासिली व्यक्तित्वकी धनी जस्मिन ओझा पछिल्लो समय नेपाली राजनीतिमा उदाउँदै गरेकी एक सशक्त जेन-जी नेत्री हुन्। उनलाई समकालीन युवा पुस्तामाझ बहुमुखी प्रतिभाशाली, गतिशील र दूरदर्शी नेतृत्वका रूपमा चिनिन्छ।
नेत्री ओझाको सक्रियता र कूटनीतिक सम्बन्ध नेपालको सीमाभित्र मात्र सीमित छैन। अन्तर्राष्ट्रिय स्तरमा समेत बलियो उपस्थिति जनाउँदै आएकी उनले भारत, श्रीलङ्का, जर्मनीलगायत विभिन्न मुलुकहरूको भ्रमण गरिसकेकी छिन्। हाल उनी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विविध सामाजिक, राजनीतिक र कूटनीतिक मामिलाहरूमा अत्यन्तै सक्रियतापूर्वक संलग्न रहँदै आएकी छिन्।