जनता समाजवादी पार्टी (जसपा) नेपालभित्र चुलिँदो असन्तुष्टिका बीच पार्टीका केन्द्रीय सदस्य तथा युवा, विद्यार्थी तथा खेलकुद विभाग प्रमुख बिदेश्वर यादव (विक्की) ले साधारण सदस्यताबाटै राजीनामा दिएका छन्।

ललितपुरस्थित ज्यापू भवनमा सम्पन्न केन्द्रीय समितिको बैठकका क्रममा यादवले आफ्नो राजीनामा पत्र सार्वजनिक गर्दै पार्टीको वर्तमान कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएका हुन्।

राजीनामा पत्रमा उनले पार्टीभित्र संस्थागत निर्णयभन्दा व्यक्तिकेन्द्रित स्वार्थ हाबी भएको र आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको आरोप लगाएका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादवको विगतको योगदानको कदर गर्दै उनले वर्तमानका गलत निर्णयलाई विगतको इतिहास देखाएर ढाकछोप गर्न नसकिने स्पष्ट पारेका छन्।

ADVERTISEMENT Max Tiger INLINE

मधेस आन्दोलन, संघीयता, सामाजिक न्याय र समानुपातिक समावेशिताका लागि राजनीतिमा जोडिएको उल्लेख गर्दै यादवले पार्टीको पछिल्लो दिशाले उत्पीडित समुदायको एजेन्डालाई ओझेलमा पारेको टिप्पणी गरेका छन्। नेतृत्वको सामीप्य भन्दा विचार र क्षमताको कदर हुने वातावरण पार्टीमा समाप्त भएको उनको भनाइ छ।

पार्टी संरचनाबाट अलग भए पनि मधेसका मुख्य मुद्दा र जनताप्रतिको प्रतिबद्धता कायम रहने यादवले बताएका छन्। पद र स्वार्थभन्दा स्वाभिमान र वैचारिक निष्ठा माथि हुने भन्दै उनले आफ्नो राजनीतिक यात्रालाई नयाँ शिराबाट अघि बढाउने घोषणा गरेका छन्।

युवा नेता यादवको यो बहिर्गमनले जसपा नेपालभित्र पुस्तान्तरण र आन्तरिक सुधारको बहसलाई पुनः सतहमा ल्याइदिएको छ, जसको असर आगामी राजनीतिक समीकरणमा देखिन सक्ने अनुमान गरिएको छ।