नेपाली कांग्रेसकी युवा नेतृ मेघा शाहीले पार्टीको १५औँ महाधिवेशनमा मधेस प्रदेश भूगोलतर्फ महिला केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्।

पार्टी संगठनलाई थप सुदृढ बनाउने, राजनीतिमा युवाको अर्थपूर्ण सहभागिता बढाउने तथा महिलाको नेतृत्वलाई केन्द्रीय तहमा स्थापित गर्ने उद्देश्यका साथ आफ्नो उम्मेदवारी परेको शाहीले बताएकी छन्। नयाँ पुस्ताको आवाजलाई पार्टीको निर्णय प्रक्रियासम्म प्रभावकारी रूपमा पुर्‍याउने उनको दाबी रहेको छ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ निवासी शाही लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएकी छन्। उनी वि. सं. २०७९ को स्थानीय तह निर्वाचनमा जीतपुरसिमरा उपमहानगरपालिकाको उपप्रमुख पदमा कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी थिइन्। उक्त निर्वाचनमा उनले १५ हजार ८४२ मत प्राप्त गरेकी थिइन् भने नेकपा एमालेका उम्मेदवार भोला प्रसाद अधिकारी १७ हजार ४९२ मत प्राप्त गरी निर्वाचित भएका थिए।

ADVERTISEMENT Max Tiger Dashain Ad

राजनीतिक पारिवारिक पृष्ठभूमिबाट आएकी शाही संविधानसभा सदस्य मधु शाहीकी छोरी हुन्। स्थानीय तहको निर्वाचनमा अनुभव हासिल गरिसकेकी शाहीले अब पार्टीको केन्द्रीय नेतृत्वमा आफ्नो राजनीतिक भूमिका विस्तार गर्ने लक्ष्यका साथ महाधिवेशनमा उम्मेदवारी दिएकी हुन्।

उनको उम्मेदवारी दर्तासँगै मधेस प्रदेशबाट कांग्रेसको केन्द्रीय नेतृत्वमा महिला र युवा पुस्ताको प्रतिनिधित्वबारे राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ। महाधिवेशन प्रतिनिधिको मतदानबाट उनको दाबी कत्तिको बलियो रूपमा स्थापित हुन्छ भन्ने कुरा आगामी निर्वाचन परिणामले निर्धारण गर्नेछ।