नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा निर्वाचन दुई चरणमा गरिए त्यसले निर्वाचनको विश्वसनीयतामाथि गम्भीर असर पार्न सक्ने चेतावनी दिनुभएको छ।

झापामा आयोजित भेटघाट कार्यक्रममा उहाँले निर्वाचन दुई चरणमा गर्ने परिस्थिति देखिए मिति नै सारेर एकै चरणमा निर्वाचन गर्नुपर्ने धारणा राख्नुभयो। हिमाली भेगमा हिउँ पर्ने कारण देखाएर निर्वाचन विभाजन गर्नु उपयुक्त नहुने उहाँको भनाइ थियो।

उहाँले मतदान प्रक्रियामा पूर्ण पारदर्शिता अनिवार्य रहेको बताउँदै मतपेटिका उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिको दृष्टिबाट एक क्षण पनि ओझेल पर्न नहुनेमा जोड दिनुभयो। मतदान सकिनासाथ पार्टी प्रतिनिधिहरुको उपस्थितिमा तत्काल मतगणना गर्नुपर्ने उहाँको माग थियो।

ADVERTISEMENT Nepal Aaja Register

राज्यका सबै अंग र निकाय निष्पक्ष नभए निर्वाचनको अर्थ नै समाप्त हुने उहाँले उल्लेख गर्नुभयो। राज्य कुनै पक्षलाई जिताउने वा हराउने भूमिकामा लागे त्यसले देशलाई गम्भीर संकटतर्फ लैजाने उहाँको चेतावनी थियो।

यो कुरा गुनासो नभई प्रतिवादको स्पष्ट सन्देश भएको भन्दै उहाँले एमाले निर्वाचन खेल्न बनेको नभई देश निर्माणका लागि स्थापित पार्टी भएको उल्लेख गर्नुभयो।

एमालेले शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचन सुनिश्चित गर्न राज्यलाई औपचारिक रूपमा सचेत गराएको जनाएको छ।