इस्लामाबाद । पाकिस्तानले अन्तर्राष्ट्रिय समुदायसमक्ष आतङ्कवाद वित्तपोषणविरुद्ध कडा कदम चालेको दाबी गरे पनि वास्तविकतामा त्यो केवल ‘अनुपालनको भ्रम’ मात्र भएको एक अन्तर्राष्ट्रिय विश्लेषणात्मक रिपोर्टले उजागर गरेको छ। रिपोर्टअनुसार, पाकिस्तानले कानुनी र संस्थागत सुधारको देखावटी प्रस्तुति गरे पनि आतङ्कवादी समूहहरूमा पैसा प्रवाह हुने संरचना अझै सक्रिय अवस्थामा छन्।
 
पाकिस्तान लामो समयदेखि फाइनान्सियल एक्सन टास्क फोर्स (FATF) को निगरानीमा रहँदै आएको मुलुक हो। Geopolitical Monitor मा प्रकाशित विस्तृत विश्लेषणले पाकिस्तानले FATF का प्राविधिक मापदण्ड पूरा गरेको जस्तो देखाए पनि लश्कर–ए–तैयबा, जैश–ए–मोहम्मद जस्ता समूहसँग जोडिएका आर्थिक सञ्जालहरू पूर्ण रूपमा ध्वस्त नभएको दाबी गरेको छ।
 
रिपोर्टमा उल्लेख गरिएअनुसार, दान सङ्कलन, गैरसरकारी संस्था, मदरसा नेटवर्क र नगद कारोबारमार्फत आतङ्कवादी गतिविधिका लागि रकम प्रवाह भइरहेको छ। कतिपय अवस्थामा राजनीतिक संरक्षण र कमजोर अभियोजन प्रणालीका कारण दोषीहरू सजायबाट उम्किरहेको पनि औँल्याइएको छ।
 
सुरक्षा विश्लेषकहरूका अनुसार, पाकिस्तानको यस्तो दोहोरो चरित्रले दक्षिण एशियाको क्षेत्रीय सुरक्षामा प्रत्यक्ष खतरा सिर्जना गरिरहेको छ। भारत, अफगानिस्तान मात्र होइन, नेपालजस्ता मुलुकहरूका लागि पनि सीमापार आतङ्कवाद र कट्टरपन्थी नेटवर्क दीर्घकालीन चुनौती बनेको उनीहरूको भनाइ छ।
 
अन्तर्राष्ट्रिय समुदायले पाकिस्तानमाथि देखावटी सुधार होइन, व्यवहारिक र परिणाममुखी कदम चाल्न दबाब बढाउनुपर्ने आवश्यकता औँल्याएको छ। अन्यथा, आतङ्कवादविरुद्धको विश्वव्यापी अभियान कमजोर बन्ने चेतावनी पनि रिपोर्टमा दिइएको छ।