काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह आफ्नो कार्यकालको पहिलो औपचारिक द्विपक्षीय भ्रमणका लागि भोलि (आइतबार) नयाँ दिल्ली प्रस्थान गर्ने तयारीमा रहँदा द्विपक्षीय एजेन्डासँगै उहाँको पोसाक, राजकीय स्वागत र यात्रा व्यवस्थापनबारे राजनीतिक तथा कूटनीतिक वृत्तमा विशेष चासो बढेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा हुन लागेको यस दुईदिने भ्रमणमा ऊर्जा व्यापार, बाढीपछिको पुनर्निर्माण, सीमा तथा कनेक्टिभिटीका गहन विषयमा उच्चस्तरीय वार्ता तय भए पनि प्रधानमन्त्रीको व्यक्तिगत शैली र कूटनीतिक प्रोटोकलले समेत उत्तिकै ध्यान तानेको छ।

औपचारिक पोसाक र कूटनीतिक प्रोटोकलको चर्चा

नेपालको कूटनीतिक परम्पराअनुसार उच्चस्तरीय औपचारिक समारोह तथा राजकीय भ्रमणमा प्रधानमन्त्रीले राष्ट्रिय पोसाक दौरा सुरुवाल, कोट, नेपाली टोपी र औपचारिक जुत्ता (अक्सफोर्ड वा तुना भएको कालो जुत्ता) लगाउने प्रचलन रहिआएको छ। विगतमा शान्ति प्रक्रियामा आएपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सुरुवाती समयमा दौरा सुरुवाल नलगाउने अडान राखे पनि पछि औपचारिक समारोहहरूमा राष्ट्रिय पोसाक नै अपनाउनुभएको थियो।

सामान्यतया कालो कोट, गन्जी, प्यान्ट, स्पोर्ट्स जुत्ता र रेबन चस्माजस्ता 'क्याजुअल' तथा 'सेमी–फर्मल' पहिरनमा देखिने प्रधानमन्त्री शाहले संसद् बैठकहरूमा समेत औपचारिक राष्ट्रिय पोसाक लगाउनुभएको छैन। यद्यपि, केही विशेष अवसरमा कालो दौरा सुरुवालमा देखिनुभएका शाहले भारत भ्रमणका क्रममा कस्तो पहिरन छनोट गर्नुहुन्छ भन्नेमा कौतूहल देखिएको छ। समाजमा कालो रङलाई कतिपयले अशुभ तथा विरोधको प्रतीकका रूपमा मान्ने गरे तापनि सरकारी तथा कूटनीतिक स्रोतका अनुसार राजकीय भ्रमणको मर्यादालाई ध्यानमा राख्दै उहाँले कालो रङकै औपचारिक पोसाक (दौरा सुरुवाल, कालो टोपी र कालो जुत्ता) धारण गर्ने सम्भावना प्रबल छ। यस्तै, भ्रमण टोलीमा प्रधानमन्त्रीपत्नी सबिना काफ्लेसमेत सहभागी हुन सक्ने चर्चा छ।

राजकीय स्वागतको अपेक्षा

भ्रमणका क्रममा नयाँ दिल्लीले दिने राजकीय स्वागत र सम्मानलाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ। भारतको विदेश मन्त्रालयले नेपालसँगको सम्बन्धलाई 'छिमेक पहिले' नीतिअन्तर्गत उच्च प्राथमिकतामा राख्दै प्रधानमन्त्री शाहको भ्रमणलाई विशेष महत्त्व दिएको जनाएको छ। कूटनीतिक स्रोतहरूका अनुसार भारतले परम्परागत कूटनीतिक प्रोटोकलअनुसार प्रधानमन्त्री शाहलाई उच्चस्तरीय र न्यानो राजकीय स्वागत गर्ने तयारी गरेको छ, जुन यसअघि उहाँले अमेरिका भ्रमणका क्रममा पाएको स्वागतको तुलनामा निकै विशेष र न्यानो रहने आकलन गरिएको छ।

हवाई यात्रा र सञ्चार रणनीति

प्रधानमन्त्री शाहको हवाई यात्रा र सञ्चार व्यवस्थापनमा पनि विगतभन्दा फरक शैली देखिने बुझिएको छ। यसअघि अमेरिका भ्रमणमा जाँदा र फर्किँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को भऱ्याङ (ल्याडर) चढेर कतार एयरवेजको उडान प्रयोग गर्नुभएका प्रधानमन्त्री शाहले यसपटक भारत जाँदा भने नेपाल एयरलाइन्सकै भऱ्याङ र सोही निगमको विमान प्रयोग गर्ने तयारी रहेको स्रोतले जनाएको छ। उहाँले इकोनोमी क्लासभन्दा माथिल्लो श्रेणीको सिटमा यात्रा गर्नुहुनेछ।

यसैगरी, भ्रमणका क्रममा सञ्चारमाध्यमसँगको समन्वयमा पनि नियन्त्रित रणनीति अपनाइने देखिएको छ। प्रधानमन्त्री शाहले स्वदेशमा रहँदाझैँ यस भ्रमणमा पनि स्वदेशी सञ्चारमाध्यमलाई प्रत्यक्ष प्रतिक्रिया नदिने सम्भावना रहेको निकटस्थ स्रोतले जनाएको छ। भ्रमणसम्बन्धी आधिकारिक सूचना तथा तस्बिरहरू सयौँ सामाजिक सञ्जाल ह्यान्डलहरू सञ्चालन गर्दै आउनुभएका उहाँका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकार (कुमार बेन) र सचिवालयको सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने तयारी छ। सुरक्षा र प्रोटोकलका कारण विमानस्थल तथा औपचारिक कार्यक्रमहरूमा नेपाली सञ्चारकर्मीलाई पहुँच नदिइने बताइएको छ। तर, नयाँ दिल्लीमा भारतीय सञ्चारमाध्यमसँगको संक्षिप्त अन्तरक्रिया वा संयुक्त पत्रकार सम्मेलनका क्रममा कूटनीतिक संवेदनशीलतालाई ध्यानमा राख्दै सन्तुलित अभिव्यक्ति दिनुपर्ने चुनौती भने सचिवालयसामु रहेको छ।