निर्वाचन बिथोलिने हल्लाबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन २१ गते तोकिएकै समयमा मतदान हुने स्पष्ट पार्नुभएको छ। उहाँले भ्रम र अफवाहले निर्वाचन प्रक्रिया प्रभावित नहुने जिकिर गर्नुभयो।

गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा बोल्दै भण्डारीले केही तत्वले वातावरण धमिल्याउने प्रयास गरे पनि निर्वाचन निर्धारित समयमै सम्पन्न हुने बताउनुभयो। मतदान बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने उहाँले पुनः दोहोर्‍याउनुभयो।

केही उम्मेदवारहरूले निर्वाचनको मितिबारे संशय व्यक्त गर्दै फोन गरेको उल्लेख गर्दै उहाँले प्रचारप्रसारमा निर्भीक रूपमा लाग्न सुझाव दिनुभयो। निर्वाचनको विकल्प निर्वाचन नै भएको उहाँको धारणा छ।

ADVERTISEMENT Max Tiger INLINE

निर्वाचन विथोल्ने वा अस्थिरता सिर्जना गर्ने कुनै गतिविधि सरकारद्वारा निषेध गरिने र आयोगले नजिकबाट अनुगमन गरिरहेको उहाँले जानकारी दिनुभयो। वातावरण निर्माणमा देखिएका कमजोरी सुधारका लागि सरकारलाई सुझाव दिइरहेको पनि उहाँले स्पष्ट पार्नुभयो।

भण्डारीले निर्वाचन आचारसंहिता पालना गर्न सबै पक्षसँग आग्रह गर्नुभयो। केही सञ्चारमाध्यमले मत सर्वेक्षण गरिरहेको उल्लेख गर्दै त्यसो नगर्न चेतावनी दिनुभयो। आचारसंहिता उल्लंघन भए कारबाही गर्न आयोग बाध्य हुने उहाँले संकेत गर्नुभयो।

निर्वाचनको अन्तिम चरणमा प्रवेश गर्दै आयोगले शान्त, निष्पक्ष र विश्वसनीय मतदान सुनिश्चित गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।