नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले मंसिर २१ देखि २३ गतेसम्म हुने महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने औपचारिक तयारी अघि बढाएका छन्। सभापतिको दौडमा आफ्नो स्थिति बलियो बनाउन निधिले १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालासँग बुधबार भेटवार्ता गरी समर्थन मागेका हुन्।

चुनदेवीस्थित सम्पर्क कार्यालयमा महाधिवेशन तयारी समितिको बैठक बस्नुअघि भएको भेटमा निधिले विगतको सहकार्य स्मरण गराएका थिए। निधिनिकट एक नेताका अनुसार निधिले १४औँ महाधिवेशनमा आफूहरूकै सहयोगमा शेरबहादुर देउवा सभापति बनेको र विगतमा कोइरालालाई महामन्त्री तथा हाल संयोजक बनाइएको उल्लेख गर्दै यसपटक आफूलाई सभापतिमा सघाउन आग्रह गरेका थिए।

पार्टीको उपसभापति भइसकेको र अघिल्लो महाधिवेशनमा समेत सभापतिमा प्रतिस्पर्धा गरिसकेकाले यसपटक आफ्नो उम्मेदवारी स्वाभाविक रहेको निधिको तर्क छ। उनले आफूनिकट नेताहरूलाई समेत चुनावी तयारीमा जुट्न निर्देशन दिइसकेका छन्, तर कोइरालाले भने निधिको प्रस्ताव सुने पनि कुनै जबाफ दिएनन्।

अर्कोतर्फ, कोइराला स्वयं पनि सभापति पदका बलिया आकांक्षी हुन्। साउनको राष्ट्रिय सम्मेलनबाट देउवाले कोइरालालाई संयोजक बनाउनुको अर्थ भावी नेतृत्वमा पनि उनैलाई अघि सार्ने सन्देश भएको उनीनिकट नेताहरूको दाबी छ। सभापति पदका लागि निधि र कोइरालासँगै प्रकाशशरण महत र एनपी साउदको नामसमेत चर्चामा छ।

१३औँ महाधिवेशनदेखि नै मिलेर एक जना उम्मेदवार बनाउने विषयमा निधि, कोइराला र प्रकाशमान सिंहबीच पटक-पटक छलफल हुँदै आए पनि सिंहले यसपटक आफ्नो धारणा सार्वजनिक गरेका छैनन्। गत वर्ष पुसमा सम्पन्न विशेष महाधिवेशनमा सहभागी नभएका देउवा र शेखर कोइरालानिकट नेताहरूले अहिले छुट्टै महाधिवेशन गर्न लागेका हुन्।

हालसम्म ६० भन्दा बढी जिल्ला र दुई प्रदेशको अधिवेशन सहमतिमा सकाएको देउवा पक्षले आकांक्षी व्यवस्थापन गर्न विधान संशोधन गरी केन्द्रीय कार्यसमितिको आकार बढाउने तयारी गरेको छ। प्रदेश अधिवेशन सकिएपछि मात्रै देउवाको उपस्थितिमा नेतृत्वबारे औपचारिक छलफल हुने र सहमति नजुटे सौहार्दपूर्ण रूपमा चुनावमा जाने तयारी भइरहेको नेताहरूले बताएका छन्।