प्रतिनिधि सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएसँगै नयाँ संसद् सञ्चालनको प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ।
शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ खुवाउनुभएको थियो। कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहित उच्च पदस्थ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

७८ वर्षीय केसी फागुन २१ गते सम्पन्न निर्वाचनमा नेपाली काँग्रेसबाट समानुपातिक प्रणालीमार्फत निर्वाचित हुनुभएको हो।
शपथ ग्रहणपछि केसीले ज्येष्ठ सदस्यको हैसियतमा चैत्र १२ गते अन्य सांसदहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ। सभामुख निर्वाचित नभएसम्म उहाँले नै प्रतिनिधि सभाको बैठक सञ्चालन गर्ने जिम्मेवारी सम्हाल्नुहुनेछ।
२७५ सदस्यीय प्रतिनिधि सभामा १६५ जना प्रत्यक्ष र ११० जना समानुपातिक प्रणालीबाट निर्वाचित भएका छन्, जसले नयाँ संसदीय कार्यकाललाई औपचारिक रूपमा अघि बढाउने आधार तयार गरेको छ।