बैतडी जिल्लाको दशरथचन्द नगरपालिका–४, देवलहाटमा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पञ्चदेवल शिव धाम (सम्पदेवल) सँग जोडिएको तामाको साढेको किम्बदन्ती अहिले पनि चर्चाको विषय बनेको छ। यो ऐतिहासिक स्मारकले राणाकालीन समयको एउटा विशेष घटना र स्थानीय आस्थालाई जीवन्त राखेको छ।
स्थानीय जानकारहरूका अनुसार, राणा शासनको समयमा बैतडीमा लामो समयसम्म खडेरी परेर जनजीवन कष्टकर बनेको थियो। शिवको आरधना गरेमा वर्षा हुने जनविश्वासका कारण तत्कालीन बडाहाकिम निलबिक्रम राणा उक्त धाममा पुगेका थिए। पूजाआजा सकिए लगत्तै पानी नपरेपछि उनले "यहाँका देवताले के वर्षा गराउलान् र?" भन्दै अविश्वास प्रकट गरेका थिए।
तर, मन्दिरबाट घर फर्किने क्रममा अचानक भीषण वर्षा सुरु भयो। वर्षाका कारण उनले बाटोमै रोकिनुपरेपछि धामको दैवी शक्तिप्रति उनको विश्वास जागृत भयो। आफ्नो पूर्वअभिव्यक्तिको प्रायश्चित स्वरूप र शिव धामको सत्यतालाई स्वीकार गर्दै उनले उक्त तामाको साढे चढाएका थिए।
अहिले पनि सोही तामाको साढे मन्दिर परिसरमा सुरक्षित छ, जसले यस क्षेत्रको सांस्कृतिक र धार्मिक इतिहासलाई झल्काउँछ। यो सम्पदाले आगामी पुस्ताका लागि पनि प्राकृतिक न्याय र धार्मिक विश्वासको एउटा महत्वपूर्ण कडीका रूपमा काम गरिरहेको छ।