नेपाल आजमा मिति २०८३.०७.०४ मा प्रकाशित खाद्य सुरक्षा र उपभोक्ता अधिकारसम्बन्धी खोजमूलक सामग्रीलाई लिएर काठमाडौँस्थित गौतम स्विट्सले आफ्नो आधिकारिक खण्डन पठाएको छ। मिडिया र प्रेस काउन्सिल नेपालका स्थापित सिद्धान्तअनुसार प्राप्त खण्डनलाई स्थान दिँदै त्यसभित्र उठाइएका कानुनी, प्रक्रियागत र पत्रकारिता आचारसंहितासँग जोडिएका विषयहरूमाथि गम्भीर सम्पादकीय समीक्षा गरिएको छ।
प्रेस काउन्सिल नियम र अख्तियारपत्रको कानुनी समीक्षा
गौतम स्विट्सका सञ्चालक शैलेन्द्र शर्माका तर्फबाट अख्तियार प्राप्त कानुनी प्रतिनिधि दीपक राईद्वारा २०८३.०७.१३ मा पेस गरिएको खण्डन पत्रमा प्रेस काउन्सिल ऐन २०४८, प्रेस काउन्सिल नियमावली २०४९ र पत्रकार आचारसंहिता उजुरी तथा कारबाही सम्बन्धी कार्यविधि २०७५ को सन्दर्भ उद्धृत गरिएको छ।
प्रचलित कानुनी व्यवस्थाअनुसार कुनै पनि व्यावसायिक फर्म वा व्यक्तिले कानुनी सल्लाहकार वा प्रतिनिधिमार्फत आफ्नो हकदाबी प्रस्तुत गर्नु वा बारेस/अख्तियारी दिनु स्वाभाविक एवं सर्वस्वीकार्य कानुनी अधिकार हो। तर, प्रक्रियागत दृष्टिले यहाँ एउटा अनौठो कानुनी त्रुटि देखिएको छ। सञ्चालक शैलेन्द्र शर्माले दीपक राईलाई दिएको उक्त अख्तियारपत्रमा कम्पनीको आधिकारिक छाप लगाइएको भए तापनि अख्तियारी दिइएको मिति भने उल्लेख गरिएको छैन। कानुनी कागजात र अख्तियारनामामा स्पष्ट मिति अनिवार्य मानिने अवस्थामा मितिविहीन अख्तियारपत्र पेस हुनु प्रक्रियागत रूपमा त्रुटिपूर्ण देखिन्छ।
नाम परिवर्तन र स्रोत संरक्षणको पत्रकारिता आचारसंहिता
टिपटपको खण्डन पत्रमा अर्डर गर्ने वा अनुभव साट्ने व्यक्तिहरूको वास्तविक नाम उल्लेख नगरी 'डेल्टा' र 'अल्फा' जस्ता नाम प्रयोग गरिएकोमा आपत्ति जनाइएको छ।
तर, अन्तर्राष्ट्रिय खोजमूलक पत्रकारिता र नेपाल प्रेस काउन्सिलको आचारसंहिताले सूचना दिने स्रोत र सर्वसाधारण उपभोक्ताको गोप्यता रक्षा गर्ने स्पष्ट अधिकार मिडियालाई दिएको छ। व्यावसायिक घराना वा शक्तिशाली पक्षविरुद्ध आफ्ना तीता अनुभव साट्ने आम नागरिकलाई सम्भावित मानसिक दबाब, धम्की वा कानुनी झञ्झटबाट जोगाउन 'स्रोतकै सहमतिमा' नाम परिवर्तन गर्नु खोजमूलक पत्रकारिताको सर्वमान्य मानक हो। उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर नाम गोप्य राखिनु पत्रकारिताको मर्मअनुरूप नै छ।
५० लाख नोक्सानीको दाबी र वैज्ञानिक प्रमाणको खोज
खण्डन पत्रमा नेपाल आजमा प्रकाशित सामग्रीका कारण टिपटपलाई रु. ५०,००,०००।– अर्थात् पचास लाख रुपैयाँ बराबरको व्यापारिक क्षति भएको दाबी गर्दै क्षतिपूर्तिको प्रश्न उठाइएको छ।
मिडिया समीक्षाको दृष्टिकोणबाट हेर्दा ५० लाख रुपैयाँको व्यावसायिक नोक्सानी भएको दाबी वस्तुनिष्ठ र वैज्ञानिक प्रमाणमा आधारित देखिँदैन। समाचार प्रकाशित भएपछि अघिल्लो महिना वा अघिल्लो वर्षको तुलनामा बिक्री कति प्रतिशतले घट्यो? समाचारकै कारण ग्राहकहरू टिपटप आउन छोडेका हुन् वा अन्य बजारिया कारण हुन्? भन्नेबारे कुनै अडिट रिपोर्ट वा लेखा परीक्षणको तथ्याङ्क प्रस्तुत गरिएको छैन। ठोस वित्तीय प्रमाण र वैज्ञानिक सूचक बिना हचुवाका भरमा यति ठूलो रकमको क्षतिको दाबी गरिनु कानुनी र व्यावसायिक दुवै हिसाबले पुष्टि हुन सक्दैन।
अन्य फर्मको प्रसङ्ग र टिपटपको अनौठो आपत्ति
नेपाल आजमा प्रकाशित समाचारमा पठाओ फुड, सुल्तान बिर्यानी र संगम स्विट्सका हालैका बासी तथा अखाद्य वस्तुसम्बन्धी घटनाहरूको समीक्षा गरिएको थियो भने टिपटपलाई केवल खाद्य सुरक्षाको दशकौँ पुरानो ऐतिहासिक प्रसङ्गका रूपमा मात्र उद्धृत गरिएको थियो। तर, गौतम स्विट्सले पठाएको खण्डन पत्रमा आफ्ना वर्तमान व्यावसायिक तथ्य वा इतिहासमा केन्द्रित हुनुको साटो अन्य फर्म वा कम्पनीको अखाद्य सामान भेटिएको प्रसङ्गलाई अघि सार्दै समाचारको अग्रभागको तस्बिरमा आफ्नो लोगो परेकोमा आपत्ति जनाइएको छ। अर्कै कम्पनीको अखाद्य वस्तु र सेवाको प्रसङ्गलाई लिएर टिपटपले आफ्नो खण्डनमा बचाउ शैली अपनाउनु र त्यसैलाई मुख्य मुद्दा बनाएर प्रश्न उठाउनु पत्रकारिता तथा कानुनी समीक्षाका दृष्टिले निकै अनौठो देखिन्छ।
ऐतिहासिक प्रसङ्ग र वर्तमान बजारको वास्तविकता
टिपटपले आफ्नो खण्डनमा अर्कै फर्म वा कम्पनीको अखाद्य र बासी सामान भेटिएको विषयमा आफ्नो लोगो र नाम जोडेर समाचारको अग्रभागमा राखिएको भन्दै आपत्ति जनाएको छ।
यहाँ प्रस्ट्याउनुपर्ने मुख्य विषय के हो भने, नेपाल आजको अघिल्लो समाचारमा टिपटपले हाल बासी वा दुर्गन्धित खाना बेचिरहेको छ भनेर कतै पनि दाबी गरिएको थिएन। पठाओ फुड, सुल्तान बिर्यानी र संगम स्विट्सका हालैका घटनाहरूको समीक्षा गर्ने क्रममा टिपटपलाई केवल नेपालको खाद्य सुरक्षाको ऐतिहासिक प्रसङ्गका रूपमा स्मरण गराइएको मात्र हो। दशकौँ अघि टिपटपको समोसाभित्र मुसा भेटिएको चर्चित घटना (जुन प्रसङ्ग तत्कालीन लोकप्रिय हास्य टेलिफिल्म 'तितो सत्य' मा समेत व्यङ्ग्यका रूपमा प्रसारण भएको थियो) नेपाली उपभोक्ता अधिकारको इतिहासमा एउटा महत्वपूर्ण दृष्टान्त बनेको थियो।
वर्तमान बजारको वास्तविकतालाई हेर्दा, उपभोक्ताहरूले टिपटपको खानाको न्यूनतम गुणस्तरभन्दा पनि यसको अत्यधिक मूल्यप्रति आफ्ना अनुभव र प्रतिक्रिया साट्ने गरेका छन्। त्यसैले पुराना ऐतिहासिक प्रसङ्ग र वर्तमान बजार मूल्यको बहसलाई अखाद्य वस्तुको बिक्रीसँग जोडेर हेरिनु हुँदैन।
उपभोक्ता अधिकार, कानुनी उपचार र जिम्मेवार पत्रकारिता
नेपाल आज मिडिया संस्था सधैँ स्वस्थ बजार, जिम्मेवार व्यवसाय र उपभोक्ताको संवैधानिक अधिकारको पक्षमा दृढतापूर्वक उभिएको छ। कुनै पनि परम्परागत वा ठूला मिष्ठान्न भण्डारको व्यावसायिक प्रतिष्ठा गिराउने हाम्रो उद्देश्य होइन र थिएन।
तर, उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षासँग जोडिएका सवालहरूमा सार्वजनिक बहस चलाउनु र आम नागरिकलाई सचेत गराउनु मिडियाको दायित्व हो। गौतम स्विट्स (टिपटप) ले पेस गरेको खण्डनलाई हामी सम्मानपूर्वक स्थान दिन्छौँ। साथै, उपभोक्ता अधिकारको संरक्षण, पारदर्शी कानुनी प्रक्रिया र गुणस्तरीय खाद्य वस्तुको पहुँच सुनिश्चित गराउन जिम्मेवार पत्रकारिताको भूमिका निरन्तर जारी रहनेछ।
गौतम स्विट्सका कानुनी सल्लाहकारले पठाएको खण्डन पत्रको पूर्ण पाठ:
पाना १
मिति : २०८३.०७.१३
श्री सम्पादकज्यू, नेपाल आज, नयाँ बानेश्वर, काठमाण्डौ ।
विषय :- खण्डन सम्बन्धमा ।
उपरोक्त सम्बन्धमा मिति २०८३.०७.०४ गते ३ बजे तपाईको नेपाल आज नामक अनलाइनले "काठमाडौंमा चर्चित रेष्टुरेण्ट र अनलाइन खाना डेलिभरी सेवामा बासी तथा अखाद्य वस्तु भेटिए पछि उपभोक्ता अधिकार र खाद्य सुरक्षा माथि गम्भिर प्रश्न उठेको छ ।" भन्ने शिर्षक राखी विभिन्न भ्रामक र तथ्यहिन मनगणन्ते समाचारहरु प्रकाशन र प्रसारण गरेकोले सो गलत एवं झुठा समाचारको कारणले हाम्रो व्यवसायमा गम्भिर असर पुग्न गएको छ । अडर गर्ने व्यक्तीको परिवर्तित नाम भनी डेल्टा, अल्फा जस्ता नाम उल्लेख गरी सुल्तान विर्यानीबाट चिकेन बिर्यानी मगाउदा बासी, दुर्गन्धित सामान आएको, संगम स्वीट्समा बासी सामान भेटिएको जस्ता तथ्यहरु उल्लेख गर्दै अन्तमा केही दशक अगाडि टिपटप समोसा भित्र मुसा भेटिएको थियो भनी उक्त समाचारको मुख्य पृष्ठमा हामीहरुको टिपटप समोसाको लोगो सहितको समोसाको तस्वीर प्रकाशित गरी सोको केही अंशहरुलाई छोटो छोटो खण्ड खण्ड गरी टिकटक, फेसबुक र युट्युव लगायतको समाजिक संजालहरुमा प्रसारण गरिएको समेत पाइयो । यदि कुनै फर्म वा कम्पनीको कुनै सामानमा अखाद्य सामाग्री पाइए वा अस्वस्थ, बासी सामान भेटिएमा सोको प्रमाण सहित सम्बन्धित कम्पनीको खाद्य सामाग्री प्रकाशन प्रसारण गर्नु पर्नेमा समाचारको अग्रभागमा हाम्रो टिपटप समोसा र सोको लोगोको तस्वीर राखी प्रकाशन र प्रसारण गरिनु प्रचलित कानूनको गम्भिर उलंघन हो । गौतम स्वीट्सको टिपटपले उपभोक्ताहरुको स्वास्थ्यमा असर पार्ने खालको कुनै पनि सामानहरुको उत्पादन गर्ने र बिक्री वितरण गर्ने गरेको छैन । सदियौदेखि सफा, स्वस्थ, ताजा खाद्य सामाग्रीहरु मात्र आफै उत्पादन गरी विक्री वितरण गरि रहेको छ। यदि तपाईको रिपोर्टरले सहि रिपोर्ट गरिएको र सोंको आधारमा समाचार प्रशारण गरिएको भए डेल्टा, अल्फा जस्ता नाम राख्नु पर्ने अवस्था किन आयो ? जुन नामको व्यक्तीले अडर गरिएको हो उसैको नाम किन उल्लेख गरिएन ? अर्कै फर्म वा कम्पनीको सामान बासी, अस्वस्थ भेटिएको भनी हाम्रो
पाना २
टिपटपको लोगोको तस्वीर सहित समाचारको अग्रभागमा किन प्रकाशित गरिएको हो ? तपाईले प्रसारण गर्नु भएको उक्त समाचारले हाम्रो टिपटपलाई रु.५०,००,०००।– बराबरको व्यापारिक क्षती भएको छ के तपाई यसको क्षतिपूर्ति तिर्न तयार हो ? तपाईले गर्नुभएको उक्त कार्य पत्रकार आचार संहिता विपरित समाजमा भ्रम फैलाई आफ्नो क्षणिक फाइदाको लागि अर्को निर्दोष व्यक्तीलाई हानी नोक्सानी पुर्याउन नियतले गरिएको होइन ? यसरी लामो समयदेखि ग्राहक वर्गको सेवामा अनवरत रुपमा समर्पित रही समाजमा स्थापित भई ताजा, सफा र स्वस्थ खाद्य सामाग्रीहरु बिक्रि वितरण गरि रहेको ब्यापारिक फर्म गौतम स्विट्सको टिपटपको ब्यापार व्यवसायलाई धरासाही बनाउने, व्यापारमा आँच आउने, समाजमा स्थापित प्रतिष्ठा गिराउने दुरासयले प्रेस काउन्सिल ऐन २०४८, प्रेस काउन्सिल नियमावली २०४९ र पत्रकार आचार संहिता उजुरी तथा कारवाही सम्बन्धी कार्यविधि २०७५ समेतको कानुनी ब्यवस्था विपरित आधार, कारण र प्रमाण विहिन रुपमा गलत एवं झुठा समाचार सम्प्रेषण गरी हाम्रो ब्यवसायलाई गम्भिर असर पुऱ्याउने कार्य तपाईको नेपाल आज अनलाइनले गरेको हुँदा यो खण्डन सहितको निवेदन गरेको छु । उचित छानविन गरी आवश्यक कार्वाही गरी सोको जानकारी गराउनुहुन माग गर्दछु । संलग्न कागजातहरु:
मिति २०८३.०७.०४ गते उक्त अनलाइनले प्रकासित गरेको समाचारको प्रतिलिपि ।
बोद्यार्थ नेपाल प्रेस काउन्सिल, सिनामंगल, काठमाण्डौ । गौतम स्वीट्स (टिपटप) को तर्फबाट अख्तियार प्राप्त दीपक राई



यो पनि पढ्नुहोस्: