नेपालको शासकीय संरचनामा व्याप्त संस्थागत बेथितिलाई अन्त्य गर्न भन्दै इनम सापकोटासँग जोडिएका बहुआयामिक विषयमा न्यायपालिकादेखि कार्यपालिकासम्म फैलिएको सञ्जालमाथि विस्तृत अनुसन्धानको माग उठेको छ। अनुसन्धानलाई कुनै खास व्यक्ति वा घेराभित्र सीमित राख्ने प्रयास भइरहेको भन्दै जेनजी मुभमेन्ट नेपालले सम्पूर्ण शक्ति केन्द्रहरूलाई समेट्ने गरी स्वतन्त्र नागरिक आयोग (लोकपाल) गठन गर्न जोडदार माग गरेको छ।

आइतबार (कात्तिक १४) प्रेस वक्तव्य जारी गर्दै आन्दोलनका अगुवा रवि किरण हमालले जारी छानबिन प्रक्रिया र सूचना सार्वजनिक गर्ने शैली एकपक्षीय देखिएको भन्दै असन्तुष्टि व्यक्त गरे। हमालका अनुसार अदालतका अधिकारीहरूमाथि छानबिन भइरहँदा बहालवाला सांसद, मन्त्री तथा प्रधानमन्त्री कार्यालयका उच्च पदाधिकारीहरूलाई अनुसन्धानको दायराभन्दा बाहिर राख्न मिल्दैन। पद, पहुँच वा राजनीतिक प्रभावका आधारमा अनुसन्धानमा विभेद गर्न नहुने धारणा उनले सार्वजनिक गरेका छन्।

प्रस्तावित लोकपाललाई संस्थागत स्वायत्तता र पूर्ण कानुनी अधिकार प्रदान गरिनुपर्ने माग वक्तव्यमा उल्लेख छ। उच्च नैतिक निष्ठा भएका निष्पक्ष प्रबुद्ध व्यक्तिहरू सम्मिलित उक्त आयोगलाई सरकारी कागजात नियन्त्रणमा लिने, जुनसुकै ओहोदाका व्यक्तिलाई उपस्थित गराउने, प्रमाण संकलन गर्ने र दोषीमाथि कारबाहीका लागि कानुनी सिफारिस गर्ने अख्तियारी दिइनुपर्ने हमालले स्पष्ट पारेका छन्। आयोग कुनै पनि प्रशासनिक वा राजनीतिक दबाबबाट पूर्णतः मुक्त हुनुपर्ने उनको तर्क छ।

आन्दोलनको मुल ध्येयबारे प्रकाश पार्दै हमालले सरकार वा राजनीतिक अनुहार फेरिनु मात्रै वास्तविक रूपान्तरण नभएको बताएका छन्। राज्यका निकायहरूको संरचनात्मक शुद्धीकरण र जवाफदेही कार्यशैली नै जेनजी विद्रोहको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै उनले आरोपित सबैलाई निष्पक्ष सुनुवाइको अवसर दिएर प्रमाणका आधारमा दोषी ठहरिने जोकोहीलाई कानुनको कठघरामा उभ्याउनुपर्ने आवश्यकता औंल्याएका छन्।