चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा बंगलादेश सहभागी भएको १० वर्ष पूरा भएको छ। यो एक दशकमा बंगलादेशले आफ्नो भौतिक संरचनामा व्यापक परिवर्तन ल्याए पनि यसका दीर्घकालीन आर्थिक र रणनीतिक असरबारे अहिले गम्भीर विश्लेषण हुन थालेको छ। रिपोर्टहरूका अनुसार चिनियाँ लगानीले बंगलादेशको ऊर्जा, यातायात र औद्योगिक क्षेत्रमा ठूलो सहयोग पुर्याएको छ, जसले देशको निर्यात क्षमता र आर्थिक वृद्धिलाई गति दिएको छ।
विशेषगरी बन्दरगाह र सडक सञ्जालमा भएको लगानीले बंगलादेशलाई दक्षिण एशियाको उदाउँदो औद्योगिक केन्द्र बनाउन मद्दत गरेको देखिन्छ। तर, यससँगै बीआरआई परियोजनाहरूको लागत, पारदिर्शता र बढ्दो ऋणको भारप्रति विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। चीनमाथिको बढ्दो आर्थिक निर्भरताले भविष्यमा रणनीतिक सन्तुलन मिलाउन कठिन हुन सक्ने चेतावनी विश्लेषणहरूमा दिइएको छ।
बंगलादेशको यो १० वर्षे अनुभव अहिले नेपाल, श्रीलंका र पाकिस्तानका लागि अध्ययनको विषय बनेको छ। नेपालमा पनि बीआरआई कार्यान्वयन र ऋणको स्वरूपबारे बहस भइरहेका बेला बंगलादेशले कसरी चिनियाँ पूँजी र प्रविधिलाई उपयोग गर्दै बहुपक्षीय सन्तुलन कायम गर्ने प्रयास गरिरहेको छ भन्ने कुरा महत्वपूर्ण हुन जान्छ। बंगलादेशको यो यात्राले पूर्वाधार विकास र आर्थिक स्वाधीनताबीचको सन्तुलन कायम राख्न दक्षिण एशियाली मुलुकहरूलाई नयाँ पाठ सिकाएको छ।