बारा : प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा बारा निर्वाचन क्षेत्र नं. ४ को चुनावी माहोल अत्यधिक गर्माएको छ। प्रतिस्पर्धामा रहेका उम्मेदवारहरू बीचको वाकयुद्धले अब व्यक्तिगत र राजनीतिक आलोचनाको सीमा नाघेर धार्मिक तथा साम्प्रदायिक आक्षेपको रूप लिन थालेको छ। यसै क्रममा राष्ट्रिय एकता दलका अध्यक्ष एवं सोही क्षेत्रका प्रतिनिधि सभा सदस्य उम्मेदवार विनय यादवले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहबर अन्सारीमाथि अत्यन्त गम्भीर र आपत्तिजनक आरोप लगाएका छन्।

​यादवको पछिल्लो अभिव्यक्तिले बारा-४ मा धार्मिक ध्रुवीकरणको जोखिम बढाएको विश्लेषण गर्न थालिएको छ। यादवले आफ्ना प्रतिस्पर्धी अन्सारीलाई 'जिहादी' को संज्ञा दिँदै उनी विदेशी मौलानाहरूबाट प्रशिक्षित भएर आएको दाबी गरेका छन्। 'नेपाल आज' सँग कुरा गर्दै यादवले रास्वपा र यसका उम्मेदवार अन्सारीप्रति आक्रामक टिप्पणी गरे। उनले भने, "गाई काट्ने पार्टीले गाई खाने उम्मेदवार उठाएको छ।"

​हिन्दू बाहुल्य र मुस्लिम समुदायको मिश्रित बसोबास रहेको बारा-४ मा यादवको यो अभिव्यक्तिले सामाजिक सद्भावमा खलल पुर्‍याउन सक्ने चिन्ता स्थानीय बुद्धिजीवीहरूले व्यक्त गरेका छन्। यादव यतिमा मात्र रोकिएनन्; उनले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह 'घन्टी' माथि समेत धार्मिक व्याख्या गर्दै प्रहार गरेका छन्। रास्वपाको घन्टीलाई लक्षित गर्दै उनले भने, "यो मन्दिरको घन्टी होइन, यो इसाईको घन्टी हो।" उनको यो टिप्पणीले रास्वपालाई धार्मिक रूपमा विवादित बनाउने रणनीति लिएको स्पष्ट देखिन्छ।

​बारा-४ मा यसपटक अधिकांश दलहरूले बाहिरका व्यक्तिहरूलाई उम्मेदवार बनाएको भन्दै 'टुरिष्ट उम्मेदवार' को व्यापक चर्चा र आलोचना भइरहेको छ। स्थानीय उम्मेदवारको मुद्दा पेचिलो बनिरहेको अवस्थामा यादवले धार्मिक कार्ड खेलेर मतदातालाई ध्रुवीकृत गर्ने प्रयास गरेको देखिन्छ। विगतमा पनि सामान्य विषयमा हिन्दु र मुस्लिम समुदायबीच तनाव उत्पन्न भइरहने यो क्षेत्र धार्मिक दृष्टिकोणले अत्यन्त संवेदनशील मानिन्छ। यस्तो अवस्थामा जिम्मेवार उम्मेदवारहरूबाट आउने उत्तेजक अभिव्यक्तिले कुनै पनि बेला अप्रिय घटना निम्त्याउन सक्ने खतरा बढेको छ।

​विनय यादवले रहबर अन्सारीमाथि लगाएका आरोप र उनको अभिव्यक्तिको पूर्ण अंश तलको भिडियोमा हेर्न सकिन्छ:

​यसैबीच, राष्ट्रिय एकता दलका अध्यक्ष यादवले लगाएका गम्भीर आरोपहरूबारे प्रतिक्रिया लिन र उहाँको पक्ष बुझ्न हामीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहबर अन्सारीसँग सम्पर्क गर्ने प्रयास गरेका थियौं। तर, अन्सारीले चुनावी व्यस्तताको कारण देखाउँदै यस विषयमा तत्काल कुनै पनि संवाद गर्न वा टिप्पणी गर्न इन्कार गरेका छन्। प्रतिस्पर्धी उम्मेदवारबाट आएको यति संगीन आरोपमा अन्सारीको मौनतालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ।