काठमाडौँ — प्राकृतिक विपद्का बेला नागरिकलाई धैर्य, सही सूचना र आधिकारिक निकायको समन्वयको खाँचो हुन्छ। तर, सामाजिक सञ्जालमा चर्चा र प्रचार बटुल्न प्यानिक (त्रास) सिर्जना गर्ने र भ्रामक सूचना सम्प्रेषण गर्ने प्रवृत्ति भने दिनानुदिन बढ्दो छ। यसैको पछिल्लो उदाहरण बनेकी छन् अभियन्ता बेदिका केसी।

विपद् व्यवस्थापनको प्राविधिक पक्ष र सडकको वास्तविक अवस्थाबारे कुनै अध्ययन र तयारीबिना लहडका भरमा निस्कने, अनि बाटोमा समस्या आएपछि सामाजिक सञ्जालमा नाटक र सहानुभूति बटुल्ने खेल फेरि दोहोरिएको छ।

बेदिका केसीले हिजो सामाजिक सञ्जालमा एउटा लामो स्पष्टीकरण लेख्दै रसुवा पुग्न नसकेकोमा आफ्नो बाध्यता पोखेकी छन्।

उनले स्टाटसमा लेखेकी छन्— "रसुवा जाने हरेक सम्भव प्रयास हामीले गर्‍यौँ। निजी हेलिकोप्टर बुक गर्न नमिल्ने रहेछ, गाडीबाट ढुंगेको बाटो बिग्रिएको थियो। जिल्ला प्रशासनसँग समन्वय गरेर नौकुन्द हुँदै जाने प्रयास गर्दा सूर्यगढीमै ठूलो पहिरो आएछ—बिहानै प्रमाणसहित फोटो राखिसकेको छु। बाइकसमेत जाने अवस्था थिएन।"

आफ्नो बचाउ गर्दै स्टाटसको अन्त्यतिर उनले थप लेखेकी छन्— "यति गर्दा पनि जान नसक्नु मेरो रहर होइन। म उडेर जाने त होइन नि! हरेक सम्भव प्रयास गर्दा पनि बाटोले साथ नदिएको हो। अब जहाँ सम्भव हुन्छ, त्यहाँका पीडितसम्म पुग्ने प्रयास जारी छ।"

बाटो बिग्रिएको, पहिरो आएको र बाइकसमेत नचल्ने स्थिति रहेको भन्दै सामाजिक सञ्जालमा यसरी अतिरञ्जित वर्णन गर्दा त्यस क्षेत्रका पीडितका आफन्त र सर्वसाधारणमा कति धेरै भय, अन्योल र प्यानिक सिर्जना हुन्छ भन्ने न्यूनतम हेक्कासमेत राखिएको छैन।

ADVERTISEMENT Nepal Aaja Register

सुरक्षा निकाय र स्थानीय प्रशासनले सडकको स्थिति नियन्त्रणमा लिइरहेका बेला निजी प्रयासबाट 'उड्न नसकेको' भन्दै सञ्जालमा भ्रम फैलाउनु र हल्ला पिट्नु गैरजिम्मेवारपनको पराकाष्ठा हो।

जिल्ला प्रशासन र विपद् व्यवस्थापन समितिको पूर्वसूचना र आधिकारिक सल्लाह पालना गर्नुको साटो, निजी हेलिकोप्टर खोज्ने र बाटो अवरुद्ध भएको त्रास फैलाउने कामले आधिकारिक उद्धार संयन्त्रलाई समेत प्रभावित बनाउँछ।

सहानुभूति र 'लाइक-कमेन्ट' सङ्कलन गर्नका लागि विपद्‌लाई मिडिया स्टन्ट बनाउने र "म उडेर जाने त होइन नि!" जस्ता हलुका अभिव्यक्ति दिएर पन्छिने प्रवृत्तिले वास्तविक राहत कार्यमा सहयोग पुर्‍याउनुको सट्टा मिथ्या सूचनालाई प्रश्रय दिएको छ।

स्थानीय प्रशासनको पूर्वसूचना र बाटोको अवस्था नबुझी राहतको गाडी लिएर कुद्ने, अनि बीच बाटोमै रोकिएपछि 'प्रमाणसहित फोटो' हालेर सञ्जालमा रोइकराई गर्ने यो काँचो शैलीले सर्वसाधारणमा अनर्गल अफवाह र त्रास मात्र फैलाएको छ।

अरे वाह! राज्यका सुरक्षा निकाय, उद्धार टोली र स्थानीय प्रशासन त विपद्‌मा त्यसै चुपचाप बसेका होलान्, तर हाम्रा सञ्जालका 'हिरो'हरू भने उड्ने पखेटा नभएर मात्र रसुवा पुग्न नसकेका रहेछन्! बाटोमा पहिरो गएको र बाइक पनि नहिँडेको 'सप्रमाण फोटो' सञ्जालमा हालेर सर्वसाधारणमा त्रास फैलाइदिएपछि राहत पुगेसरह नै भइहाल्यो! उड्ने प्रविधि नेपालमा नआएसम्म यस्ता सञ्जाल-नायकहरूले फेसबुकबाटै प्यानिक सिर्जना गरेर विपद् व्यवस्थापन गरिदिने हुनाले अब त सरकारले पनि ढुक्क भएर बसे हुन्छ!