धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारी नेतृत्व चयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा अस्पताल व्यवस्थापनलाई चुस्त बनाउन तीन मुख्य पदाधिकारीका लागि १४ जना उम्मेदवारलाई अन्तर्वार्ताका लागि छनोट गरिएको छ।
प्रतिष्ठानद्वारा सोमबार जारी सूचना अनुसार शिक्षाध्यक्ष, रजिष्ट्रार र अस्पताल निर्देशक पदमा सूचीकृत उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ता भदौ १० गते उपकुलपतिको कार्यालयमा सञ्चालन गरिनेछ।
शिक्षाध्यक्ष पदका लागि प्रा.डा. काजीराम अधिकारी, प्रा.डा. कृष्ण पोखरेल, प्रा.डा. रोबिन मास्के र प्रा.डा. शिवेन्द्र झा प्रतिस्पर्धामा रहेका छन्। त्यस्तै, रजिष्ट्रार पदको दौडमा डा. अरुणकुमार सिंह, प्रा.डा. अशोककुमार यादव, डा. इन्द्रकुमार लिम्बू, डा. मधुर बस्नेत, डा. शहेराज अहमद खान र डा. विम्मी सिंह छनोट भएका छन्।
अस्पताल निर्देशक पदका लागि प्रा.डा. अशोककुमार झा, श्री धरनिधर बराल, प्रा.डा. शमशेर श्रेष्ठ र श्री सागरकुमार ताम्राकारको नाम सार्वजनिक गरिएको छ। तोकिएको कार्यतालिका अनुसार भदौ १० गते बिहान ८:३० देखि ११ बजेसम्म अस्पताल निर्देशक, ११:३० देखि २ बजेसम्म रजिष्ट्रार र दिउँसो ३ देखि ५ बजेसम्म शिक्षाध्यक्ष पदका प्रत्याशीहरूको अन्तर्वार्ता लिइनेछ।
अन्तर्वार्तामा सहभागी हुने उम्मेदवारहरूलाई सक्कल प्रमाणपत्रसहित तोकिएको समयभन्दा आधा घण्टा अगावै उपस्थित हुन निर्देशन दिइएको छ। यो नेतृत्व चयन प्रक्रियाले प्रतिष्ठानको आगामी प्रशासनिक तथा स्वास्थ्य सेवा सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
