चीनको बेइजिङस्थित वैज्ञानिकहरूले विकास गरेको विशेष विद्युतीय काइँयोले विश्वभर एक अर्बभन्दा बढी मानिसलाई सताइरहेको तालु खुइलिने समस्या (एन्ड्रोजेनेटिक एलोपेसिया) को उपचारमा नयाँ आशा जगाएको छ। प्रयोगशालामा मुसामाथि गरिएको परीक्षणमा उक्त उपकरणले मात्र २८ दिनमा झरेको करिब ९७.८५ प्रतिशत कपाल पुनः उमार्न सफलता पाएको हो।

बेइहाङ विश्वविद्यालयका अनुसन्धानकर्ता लिउ र उनको टोलीले सन् २०२६ मा 'नेचर कम्युनिकेसन्स' जर्नलमा प्रकाशित गरेको अध्ययनअनुसार यस बायोइलेक्ट्रोनिक उपकरणको नाम डिट्याङ्गल राखिएको छ। सामान्य काइँयोभन्दा भिन्न यस उपकरणमा फरक–फरक उचाइका दाँतहरू जडान गरिएका छन्, जसमा इलेक्ट्रोड र औषधि प्रवाह गर्ने विशेष प्रणाली समावेश छ।

वैज्ञानिकहरूका अनुसार दाँतहरूको उचाइमा राखिएको यो भिन्नताले एकै लहरमा मिलेका दाँतको तुलनामा २.६३ गुणा बढी शक्तिशाली विद्युतीय तरङ्ग उत्पन्न गर्छ, जुन छालाभित्र कपालको जरासम्म करिब ९ गुणा गहिराइसम्म पुग्छ। यी तरङ्गहरूले कपालको जरालाई सक्रिय बनाउनुका साथै इलेक्ट्रोपोरेसन प्रक्रियामार्फत कोषिकाको झिल्लीलाई अस्थायी रूपमा खुकुलो बनाएर औषधिलाई छालाको भित्री तहसम्म पुर्‍याउन मद्दत गर्छ।

परीक्षणका क्रममा अनुसन्धानकर्ताहरूले विद्युतीय तरङ्गसँगै दुई प्रकारका प्रयोगात्मक आनुवंशिक उपचार (जेनेटिक थेरापी) प्रयोग गरेका थिए। जसअन्तर्गत कपालको जरावरिपरि रक्तनलीको विकास गर्न भीईजीएफए प्लाज्मिड (VEGFA plasmid) र कपालको जरा खुम्च्याउने हर्मोनलाई रोक्न एसआरडी५ए२ एसआईआरएनए (SRD5A2 siRNA) प्रयोग गरिएको थियो।

टेस्टोस्टेरोन हर्मोनका कारण कपाल झरेका भाले मुसाहरूमा २८ दिनसम्म गरिएको तुलनात्मक अध्ययनमा कुनै उपचार नपाएका मुसामा मात्र १ प्रतिशत कपाल पलाएको देखियो। केवल डिट्याङ्गलको विद्युतीय तरङ्ग मात्र दिइएका मुसामा करिब ४० प्रतिशत कपाल पलायो, जुन प्रचलित औषधि फिनास्टेराइडको ५० प्रतिशत र मिनोक्सिडिलको ७० प्रतिशत नतिजाभन्दा केही कम थियो।

तर, विद्युतीय तरङ्गलाई आनुवंशिक औषधिसँग मिसाएर प्रयोग गर्दा नतिजा निकै प्रभावकारी देखियो, जहाँ एसआरडी५ए२ एसआईआरएनएसँग करिब ८५ प्रतिशत र भीईजीएफए प्लाज्मिडसँग करिब ९० प्रतिशत कपाल पलायो। विद्युतीय तरङ्ग र दुवै औषधि समेटिएको पूर्ण डिट्याङ्गल उपचार पाएका मुसामा भने करिब ९७.८५ प्रतिशत कपाल पुनः पलाएको अध्ययनले देखाएको छ, जुन हाल प्रचलित खाने वा लगाउने औषधिभन्दा निकै उच्च हो।

प्रारम्भिक परीक्षणले उत्साहजनक परिणाम देखाए पनि मानिसमा यसको सुरक्षा र प्रभावकारिता पुष्टि गर्न थप क्लिनिकल अनुसन्धान आवश्यक रहेको वैज्ञानिकहरूले औंल्याएका छन्। आगामी परीक्षणहरूमा पनि यस्तै सफलता मिलेमा कपाल झर्ने समस्या समाधानका लागि साधारण काइँयो नै अचुक माध्यम बन्न सक्ने देखिएको छ।