नेपाली कांग्रेसका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा करिब पाँच महिना लामो स्वास्थ्य उपचार पूरा गरी स्वदेश फर्किएका छन्। स्वदेश फर्किएलगत्तै एक वक्तव्य जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न र मुलुकको सेवा गर्न विनम्र सेवकका रूपमा उपस्थित भएको बताएका छन्। उनले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सम्पूर्ण नागरिकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

आफ्नो वक्तव्यमा पूर्वप्रधानमन्त्री देउवाले नेपाली कांग्रेसको ऐतिहासिक संघर्ष र योगदानको स्मरण गर्दै अग्रज नेताहरूको त्यागलाई जनताको विश्वासका रूपमा वहन गरिरहेको बताएका छन्। उनले विसं २०२० देखि निरन्तर राजनीतिमा संलग्न रहँदा मुलुकको लोकतन्त्र र स्वतन्त्रताका लागि रगत बगाएको इतिहासप्रति गर्व रहेको उल्लेख गर्दै विगतका ऐतिहासिक काम र बलिदानलाई नकारात्मकताका साथ हेर्न नहुने स्पष्ट पारेका छन्।

युवा पुस्ताको माग र परिवर्तनलाई नेपाली कांग्रेसले आत्मसात् गरेको बताउँदै देउवाले गत भदौमा भएको जेनजी आन्दोलनका जायज मागहरूलाई सम्बोधन गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। समयको गतिसँगै अघि बढ्नुपर्ने सत्यलाई स्वीकार गर्दै उनले समाजका सबै वर्ग, समुदाय र पुस्ताको सार्थक सहभागिता सुनिश्चित गर्न पार्टी प्रतिबद्ध रहेको जनाएका छन्।

वर्तमान सरकारको दायित्वबारे बोल्दै पूर्वप्रधानमन्त्री देउवाले जनताको ठूलो आकांक्षालाई सम्बोधन गर्नु सरकारको मुख्य कर्तव्य भएको बताएका छन्। राजनीतिक आग्रह र पूर्वाग्रह साधेर अघि बढ्नु सत्तारूढ दल र मुलुक कसैको हितमा नहुने चेतावनी दिँदै उनले ताजा जनमत पाएको सरकारले जनताको मतको कदर गर्न नसके लोकतन्त्रमा जनता नै सर्वोपरि हुने उल्लेख गरेका छन्।

देउवाले संविधानको संरक्षण र आवश्यकताअनुसार गरिने संशोधन राष्ट्रिय सहमतिका आधारमा मात्र हुनुपर्नेमा जोड दिएका छन्। नेपाली कांग्रेसभित्र देखिएका असहमति र निराशालाई तुरुन्तै समाधान गरी पार्टीलाई एकतावद्ध बनाउन उनले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई अपिल गरेका छन्। पार्टीभित्रको आन्तरिक विवादले मुलुकको राष्ट्रियता नै कमजोर हुन सक्ने भन्दै उनले कसैको इगोमा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने बताएका छन्।

विसं २०३३ मा वीपी कोइराला भारत निर्वासनबाट फर्कँदा गर्नुभएको आह्वानलाई स्मरण गर्दै देउवाले ४७ वर्षपछि पुनः मुलुकमा सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता औँल्याएका छन्। आफूले जीवनभर राष्ट्र, लोकतन्त्र, नागरिक र संविधानलाई सर्वोपरि मानेर काम गरेको दाबी गर्दै उनले बाँकी जीवन पनि मुलुक र जनताको हितमा समर्पित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।