मुलुकको समग्र विकास र स्थायित्वका लागि वर्तमान नेतृत्वलाई पर्याप्त समय दिनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्। राष्ट्रिय प्रेस क्लबद्वारा आयोजित एक कार्यक्रममा बोल्दै परराष्ट्र मामिलाका जानकार भाईराजा पाण्डेले बारम्बारको राजनीतिक अस्थिरताले देशलाई झनै ठूलो संकटतर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।
पाण्डेका अनुसार सरकारको कार्यशैलीमा केही प्राविधिक कमजोरीहरू देखिए तापनि नीतिगत नियतमा शंका गर्ने ठाउँ छैन। अनुभवी र विषयविज्ञहरूसँग घनिभूत परामर्श गरेर अघि बढेमा विद्यमान सुशासनका प्रयासहरूले थप सार्थकता पाउने उनको तर्क छ।
राजस्व व्यवस्थापनका सन्दर्भमा धारणा राख्दै पाण्डेले राज्य सञ्चालनका लागि कर संकलन एउटा अनिवार्य प्रक्रिया भएको स्पष्ट पारे। संकलित कर कुनै मन्त्रीको व्यक्तिगत लाभका लागि नभई राष्ट्रिय पूर्वाधार र सार्वजनिक कल्याणका लागि उपयोग हुने भएकाले हतारमा नेतृत्व फेर्ने हल्लाको पछि लाग्न नहुने उनले बताए।
सांसदहरूका लागि स्वकीय सचिव व्यवस्थापनका विषयमा बोल्दै पाण्डेले कार्यसम्पादन सहज बनाउन कर्मचारी आवश्यक भए पनि त्यसलाई नातावाद र आफन्त भर्ती गर्ने थलो बनाउन नहुनेमा जोड दिए।
तत्काल सबै समस्या समाधान हुन नसक्ने यथार्थलाई स्वीकार्दै पाण्डेले नागरिक तहबाट धैर्यताको अपेक्षा गरेका छन्। सरकारले पनि सकारात्मक आलोचना र रचनात्मक सुझावलाई आत्मसाथ गर्दै अघि बढ्नुपर्ने उनको सुझाव छ।