नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको क्रियाशील सदस्यता अध्यावधिक नगर्नेहरुले पार्टीको सदस्यता गुमाउने घोषणा गर्नुभएको छ। पार्टीभित्रको आन्तरिक खिचातानी, विशेषगरी शेरबहादुर देउवा पक्षको अडानका बीच सभापति थापाले यस्तो कडा चेतावनी दिनुभएको हो।

मङ्गलवार काठमाडौंको वडा नम्बर ३० स्थित वडा कार्यालय पुगेर आफ्नै सदस्यता नवीकरणको निवेदन दिएपछि थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्नुभयो। उहाँले पार्टी विधान अनुसार सुरु गरिएको यो प्रक्रियामा कसैले पनि अवरोध सिर्जना गर्न नहुने बताउँदै सिंगो पार्टी पंक्तिलाई सचेत गराउनुभयो।

सभापति थापाले आगामी वैशाख १५ गतेभित्र सबै नेता तथा कार्यकर्तालाई आ-आफ्नो वडा कार्यालय पुगेर अनिवार्य रुपमा सदस्यता अध्यावधिक गर्न निर्देशन दिनुभएको छ। सदस्यता 'खोस्न लागिएको' भन्दै फैलाइएका हल्लाहरूलाई अस्वीकार गर्दै उहाँले बाहिर अनावश्यक कोलाहल नमच्चाउन आग्रह गर्नुभयो।

विशेष कारणवश वा वैदेशिक रोजगारीमा रहेका कारण वडामा उपस्थित हुन नसक्ने कार्यकर्ताका लागि पार्टीले छुट्टै व्यवस्था गर्ने समेत उहाँले जानकारी दिनुभयो। कुनै पनि अन्योल भएमा केन्द्रीय कार्यालयमा रहेका महामन्त्रीहरूसँग सम्पर्क गर्न आग्रह गर्दै उहाँले पार्टीको संगठन सुदृढीकरणका लागि सबैको सहयोग अपरिहार्य रहेको स्पष्ट पार्नुभयो।