नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको आन्तरिक संरचनालाई पूर्णता दिने उद्देश्यले केन्द्रीय कार्यसमितिमा १९ जना नयाँ सदस्यहरू मनोनीत गर्नुभएको छ। पार्टी विधानको धारा २१ को उपधारा १० ले दिएको अधिकार प्रयोग गर्दै सभापति थापाले महाधिवेशन प्रतिनिधिहरूमध्येबाट उनीहरूलाई केन्द्रीय सदस्य पदमा चयन गर्नुभएको हो।

मनोनीत हुने नेताहरूमा धनुषाका महेन्द्र यादव, कास्कीका जीवन परियार, चितवनका उमेश श्रेष्ठ र पर्साका रमेश रिजाल रहनुभएको छ। यस्तै, मोरङकी सुजाता कोइराला, दार्चुलाका दिलेन्द्रप्रसाद बडू, गुल्मीका डा. चन्द्रकान्त भण्डारी र पर्साका अजयकुमार चौरसियाले पनि केन्द्रीय समितिमा स्थान पाउनुभएको छ। सभापति थापाले भौगोलिक र साङ्गठनिक सन्तुलन मिलाउन विभिन्न जिल्लाका प्रभावशाली अनुहारहरूलाई समेट्नुभएको छ।

ADVERTISEMENT Xtreme - Inside

मनोनयन सूचीमा उदयपुरकी लक्ष्मी परियार, सोलुखुम्बुका आङ्गेलु शेर्पा, सप्तरीका दिनेशकुमार यादव र सुनसरीका राजीव कोइराला तथा राजीव ढुंगाना रहनुभएको छ। यसैगरी प्यूठानका प्रा.डा. गोविन्दराज पोखरेल, कैलालीकी सुशिला मिश्र भट्ट, महोत्तरीकी नागिना यादव, चितवनका दिनेश कोइराला, कैलालीकी डा. जीवन राना र धादिङकी सीता थपलिया (उर्मिला) पनि नयाँ केन्द्रीय सदस्यका रूपमा चयन हुनुभएको छ।

यस मनोनयनसँगै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले नयाँ ऊर्जा पाउने अपेक्षा गरिएको छ। पार्टीभित्रका अनुभवी र युवा नेतृत्वलाई एकै ठाउँमा ल्याएर आगामी राजनीतिक कार्यदिशा तय गर्न यो विस्तारले महत्त्वपूर्ण भूमिका खेल्ने विश्लेषण गरिएको छ।