नेपाली कांग्रेसभित्र संगठनात्मक अनुशासन र विधिको पालनालाई लिएर नेतृत्वले कडा नीति अख्तियार गर्ने संकेत गरेको छ। शनिबार बिहान विराटनगरस्थित ऐतिहासिक कोइराला निवास पुगेका पार्टी सभापति गगन थापाले दलको विधान उल्लंघन गर्ने र आन्तरिक कार्यमा अवरोध पुर्याउने तत्वहरूलाई अब छुट नदिइने स्पष्ट पार्नुभयो।
विशेष महाधिवेशनबाट नेतृत्व सम्हालेपछि पहिलोपटक कोइराला निवास पुग्नुभएका थापाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीको आन्तरिक व्यवस्थापनमा कडाइ गरिने बताउनुभयो। असन्तुष्ट वा बाहिर रहेका नेता-कार्यकर्तालाई मूलधारमा समेट्ने प्रयास जारी रहे पनि अनुशासनहीनता स्वीकार्य नहुने उहाँको भनाइ थियो। आगामी अधिवेशनलाई लक्षित गर्दै सदस्यता व्यवस्थापनका लागि साझा संयन्त्र बनाउन तयार रहेको उल्लेख गर्दै उहाँले काममा बाधा पुर्याउनेहरूलाई धन्यवाद दिएर बिदा गरिने चेतावनी दिनुभयो।
पार्टीको आन्तरिक राजनीतिका अतिरिक्त सभापति थापाले गत भदौ २४ गते कोइराला निवासमा भएको आगजनी र ध्वंशात्मक घटनालाई लिएर सरकारको भूमिकामाथि गम्भीर प्रश्न उठाउनुभयो। बीपी कोइरालादेखि शेखर कोइरालासम्मको राजनीतिक विरासत बोकेको उक्त ऐतिहासिक स्थलमा भएको धनजनको क्षतिको कदर गर्नुको साटो सरकारले यसलाई ओझेलमा पार्न खोजेको उहाँको आरोप छ।
उहाँले भदौ २३ को घटनाको कानुनी प्रक्रियामा कांग्रेसको ऐक्यबद्धता रहेको प्रष्ट पार्दै त्यसको भोलिपल्ट कोइराला निवासदेखि चाक्सीबारी र सिंहदरबारदेखि राष्ट्रपति भवनसम्म पुर्याइएको क्षतिको निष्पक्ष छानबिनका लागि तत्काल न्यायिक समिति गठन गर्न माग गर्नुभयो। साथै, राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमाथि सरकारी दबाब रहेको आशंका गर्दै उहाँले सो प्रतिवेदन अविलम्ब सार्वजनिक गर्न सरकारलाई आग्रह गर्नुभयो।