रसुवामा गएको भीषण बाढी र पहिरोपछि उद्धार, राहत तथा अनुगमनका नाममा फिल्डमा निस्किएका कतिपय अधिकारकर्मी, अभियन्ता र सांसदहरूको कार्यशैलीप्रति स्थानीयस्तरमा चर्को असन्तुष्टि र जनगुनासो बढिरहेको छ। काठमाडौंबाट राहतको ठूलो प्रचार गरेर निस्कने अधिकांश टोली राजधानी नजिकै पर्ने नुवाकोटको विदुरसम्म मात्र पुग्ने, पर्यटकीय शैलीमा भीडभाड जम्मा गरेर फोटो तथा भिडियो खिच्ने र त्यसभन्दा माथिल्लो भेगका वास्तविक प्रभावित बस्तीहरूमा जान भने अनेकौँ बहाना बनाउने प्रवृत्ति देखिएको छ। बाटो भत्किएको, पहिरो खसेको, सवारीसाधन फसेको र मौसम प्रतिकूल भएको जस्ता कारण देखाउँदै सामाजिक सञ्जालमा अतिरञ्जित पोस्टहरू राखेर देशैभर त्रास फैलाउने र बीचबाटोबाटै फर्किने परिपाटीको व्यापक आलोचना भइरहेको छ।

यस्तो निराशाजनक र प्रचारमुखी प्रवृत्तिका बीच ‘मिसन स्माइल नेपाल’सँग जोडिएका केही ‘जेन-जी’ युवा अभियन्ताहरूले भने विपद् व्यवस्थापनमा अत्यन्तै परिपक्व, निष्ठावान् र उदाहरणीय कार्यशैली प्रस्तुत गरेका छन्। कुनै पनि सामाजिक सञ्जालको तामझाम, आत्मप्रचार वा हल्लाखल्ला नगरी युवा अभियन्ता जस्मिन ओझाको नेतृत्वमा डा. ऋषि साह, आयुष बस्याल र रियाब बानियाँ सम्मिलित टोली वर्षा र हिलो सडकको जोखिम मोलेर प्रत्यक्ष रूपमा रसुवाको कालिका गाउँपालिकासम्म पुगेको छ। सुगम र सबैको पहुँच पुग्ने मुख्य सडक आसपास मात्र राहत केन्द्रित हुने गलत अभ्यासलाई तोड्दै यो टोलीले हालसम्म कुनै पनि निकायको ध्यान पुग्न नसकेका र राहतबाट वञ्चित रहेका विकट बस्तीका बाढीपीडित परिवारलाई प्राथमिकतामा राखेर कार्य अघि बढाएको छ।

टोलीले कालिका गाउँपालिकाका अध्यक्ष हरिकृष्ण देवकोटासँग प्रत्यक्ष समन्वय गरी विपद्‌पछिको स्वास्थ्य जोखिम, सरसफाइ र आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने ठूलो परिमाणको राहत सामग्री हस्तान्तरण गरेको छ। विपद्पछि फैलन सक्ने पानीजन्य महामारी र डिहाइड्रेसन रोकथामका लागि तीन हजारभन्दा बढी जीवनजलका प्याकेट तथा पानी शुद्धीकरण गर्ने पियुष घोल उपलब्ध गराइएको छ। त्यसैगरी महिलाहरूको स्वास्थ्य र मर्यादालाई ख्याल गर्दै ठूलो परिमाणमा सेनेटरी प्याड, हात धुने स्यानिटाइजर र दुर्गन्ध तथा कीटाणु नियन्त्रणका लागि चुन समेत वितरण गरिएको छ। घाइतेहरूको प्राथमिक उपचार र ड्रेसिङका लागि बेटाडिन सोलुसन, बेटाडिन गार्गल, कटन रोल र गज ब्यान्डेजका साथै आपत्कालीन अवस्थामा चाहिने नर्मल स्लाइन, डीएनएस, विभिन्न प्रकारका डेक्सट्रोज, क्यानुला र इन्फ्युजन सेटहरू गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन टोलीले पेट दुख्ने, ग्यास्ट्रिक र दुखाइ कम गर्ने प्यानटोप्राजोल, बुस्कोपान, डाइक्लोफेनाक र केटोरोलाक जस्ता विभिन्न आपत्कालीन इन्जेक्सनहरू समेत पुर्‍याएको छ। यसका अतिरिक्त सिटामोल, मेट्रोनिडाजोल, जुकाको औषधि अल्बेन्डाजोल, एन्टिबायोटिक तथा स्टेरोइड मलम, आँखाको ड्रप र लामखुट्टे भगाउने मलम तथा स्प्रे जस्ता दैनिक प्रयोग हुने औषधिहरू समेत प्रदान गरिएको छ। स्वास्थ्यकर्मीहरूको सुरक्षाका लागि सर्जिकल मास्क, मेडिकल पन्जा र डाक्टर गाउनका साथै प्रभावित विपन्न परिवारका लागि सत्तरीभन्दा बढी न्यानो कम्बलहरू प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको छ।

राहत सामग्री बोकेर प्रभावित क्षेत्रतर्फ जाँदा बाटोभरि मुसलधारे वर्षा भइरहेको थियो भने पहिरोका कारण सडक पूर्ण रूपमा हिलो र अफरोड बनेको थियो। धेरैजसो टोली यस्तै मौसम र असहज बाटोको बहाना बनाएर पछि हटिरहेका बेला, यी युवाहरूले कुनै पनि गुनासो नगरी आफ्नो गन्तव्य पूरा गरेर पीडितको घाउमा मलम लगाउने काम गरेका छन्। विपद्को संवेदनशील घडीमा सामाजिक सञ्जालको भाइरल कन्टेन्ट, फोटोसेसन र खोक्रो सहानुभूतिको कुनै अर्थ रहँदैन भन्ने कुरा यी युवाहरूको शान्त र प्रभावकारी कामले प्रमाणित गरिदिएको छ। पीडितको घरदैलोमै पुगेर स्वास्थ्य, सुरक्षा र मानवीय मर्यादा जोगाउने यो निस्वार्थ प्रयास राहतका नाममा भीड जम्मा गर्ने र प्रचार खोज्नेहरूका लागि एउटा गतिलो पाठ बनेको छ।