काठमाडौँ । नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ६ गते आइतबार काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेपाल–जापान महोत्सव २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल–जापान महोत्सव आयोजक समितिको आयोजना तथा नेपालस्थित जापानी राजदूतावास र काठमाडौँ महानगरपालिकाको सहआयोजनामा महोत्सव हुन लागेको हो । यस महोत्सवले दुई देशबीचको सात दशक लामो मित्रता र सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ ।

महोत्सवको मुख्य आकर्षणका रूपमा जापानको चर्चित सांगीतिक समूह गोडाइगो (GODIEGO) को विशेष प्रस्तुति रहनेछ । सन् १९८० मा काठमाडौँको दशरथ रंगशालामा ऐतिहासिक प्रस्तुति दिएको गोडाइगो ४६ वर्षपछि पुनः नेपालमा प्रस्तुत हुन लागेको हो ।

कार्यक्रममा जापानका चर्चित हिपहप कलाकार मम्मी–डी (Mummy–D) सहित नेपाली ब्यान्डहरू कववेभ, कुटुम्ब र सविन राई एण्ड द फराहोको समेत विशेष सांगीतिक प्रस्तुति रहने आयोजकले जनाएको छ ।

मानवीय सहयोग र द्विपक्षीय सहकार्य

महोत्सवले सांस्कृतिक सम्बन्धसँगै मानवीय सहयोगको सन्देशसमेत प्रवाह गर्नेछ । भोटेकोशी नदी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ गोडाइगोले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब ३० लाख नेपाली रुपैयाँ प्रदान गर्ने भएको छ । उक्त रकम समूहले जापानमा आयोजित आफ्नो सांगीतिक यात्राको ५०औँ वार्षिकोत्सव कार्यक्रममा संकलन गरेको हो ।

सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र जापानबीच शिक्षा, संस्कृति, पर्यटन तथा व्यापारका क्षेत्रमा निरन्तर सहकार्य हुँदै आएको छ । महोत्सवले दुई देशबीचको मित्रतालाई नयाँ पुस्तासम्म पुर्‍याउनुका साथै पर्यटन प्रवर्द्धन र सांस्कृतिक आदानप्रदानमा योगदान पुर्‍याउने विश्वास आयोजकको छ ।

महोत्सवमा नेपाली तथा जापानी कला, संस्कृति र संगीतको संगमसँगै विभिन्न सांस्कृतिक गतिविधिसमेत सञ्चालन हुनेछन् । कार्यक्रममा प्रवेश निःशुल्क रहनेछ ।