एक क्यानेडियन यात्रीमा हान्टाभाइरस सङ्क्रमण पुष्टि भएसँगै यसको जोखिम अझै टरिनसकेको स्पष्ट भएको छ। यो भाइरसको लक्षण देखिन लामो समय लाग्ने भएकाले आगामी दिनमा थप सङ्क्रमितहरू फेला पर्न सक्ने अनुमान गरिएको छ। हाल एमभी होन्डियस क्रुज जहाजका १२० भन्दा बढी यात्रीहरूलाई विभिन्न देशमा निगरानीमा राखिएको छ, जसमा पर्थ नजिकै तीन हप्ताको अनिवार्य क्वारेन्टाइनमा रहेका पाँच अस्ट्रेलियाली र एक न्युजिल्यान्डका नागरिक समावेश छन्।
यो प्रकोप नियन्त्रणोन्मुख देखिए पनि यसले महामारी विरुद्ध विश्वव्यापी रूपमा समन्वयात्मक कदम चाल्नु कति महत्त्वपूर्ण छ भन्ने कुरालाई पुनः स्मरण गराएको छ। जनावरबाट मानिसमा सर्नु, मानिसबाट मानिसमा फैलिनु र क्रुज जहाज जस्तो बन्द ठाउँमा तीव्र गतिमा विस्तार हुनु जस्ता विशेषताका कारण यस प्रकोपले कोभिड–१९ को सुरुवाती दिनहरूको सम्झना गराउँछ।
हान्टाभाइरसको मृत्युदर २१ देखि ३६ प्रतिशत सम्मको उच्च र घातक भए तापनि यो कोभिड जस्तो अर्को ठुलो महामारी बन्ने सम्भावना न्यून रहेको विज्ञहरू बताउँछन्। कोभिडको विपरीत, एन्डिज हान्टाभाइरसबारे वैज्ञानिकहरू र जनस्वास्थ्य अधिकारीहरू पहिले नै जानकार थिए। यसको सङ्क्रमण मुख्यतया लक्षणहरू तीव्र रूपमा देखिने समयमा मात्र सर्ने भएकाले सङ्क्रमित व्यक्तिले धेरै मानिससँग सम्पर्क गर्ने मौका पाउँदैनन्।
विगतका अध्ययनहरूका अनुसार सन् २०१८ मा एक भोजबाट सुरु भएको हान्टाभाइरस प्रकोप जस्तै यो भाइरस फैलिनका लागि विशेष अनुकूल वातावरणको आवश्यकता पर्छ। यस सङ्क्रमणमा बिना लक्षणका बिरामीहरू विरलै हुने र लक्षण देखिएपछि स्वास्थ्य अवस्था तीव्र रूपमा बिग्रने हुँदा यसको फैलावट सीमित हुन्छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को द्रुत अन्तर्राष्ट्रिय पहलका कारण यस पटकको प्रकोपलाई समयमै रोक्न सम्भव भएको हो।
तर, यो प्रकोप टरे पनि विश्वव्यापी महामारी रोकथाम र तयारीका उपायहरूमा अझै धेरै कमजोरीहरू बाँकी नै छन्। विशेष गरी संयुक्त राज्य अमेरिका र अर्जेन्टिना डब्ल्यूएचओबाट बाहिरिनु र अन्य सदस्य राष्ट्रहरूले बजेट कटौती गर्नुले आगामी दिनमा आउने स्वास्थ्य सङ्कटसँग लड्ने विश्वको क्षमतालाई कमजोर बनाएको छ। त्यस्तै, सन् २०२४ को परिमार्जित अन्तर्राष्ट्रिय स्वास्थ्य नियमावलीलाई अझै पनि ११ वटा सदस्य राष्ट्रहरूले अस्वीकार गरिरहेका छन्।
भविष्यमा आउन सक्ने यस्ता घातक भाइरसको जोखिम न्यूनीकरणका लागि क्रुज जहाज जस्ता बन्द ठाउँहरूमा हावाको गुणस्तर सुधार्न र मास्कको प्रयोग बढाउन आवश्यक देखिएको छ। साथै, वन फँडानी, वन्यजन्तुको व्यापार र जलवायु परिवर्तन जस्ता मानवीय गतिविधिहरूलाई नियन्त्रण नगरेसम्म मानव जातिमा भाइरस सङ्क्रमणको खतरा सधैं रहिरहने चेतावनी विज्ञहरूले दिएका छन्।