वीरगन्ज- वीरगन्जको मुख्य व्यापारिक केन्द्रमा रहेको प्रतिष्ठित हरिखेतान सामुदायिक क्याम्पसलाई गैरकानुनी रूपमा 'कब्जा' गरी निजी कम्पनीसरह चलाउने प्रपञ्च रचिएको तथ्य फेला परेको छ। वीरगन्जको मुटुमा रहेको अर्बौँ मूल्यको जमिन, भौतिक संरचना र बैंक खातामा रहेको ११ करोड रुपैयाँभन्दा बढी नगद मौज्दातमाथि सञ्चालक समितिका अध्यक्ष प्रेमप्रकाश खेतानले प्रशासनिक र आर्थिक रूपमा पूर्ण नियन्त्रण जमाएका छन्।

शैक्षिक योगदान शून्य, बाजेको दानमा नातिको र्‍याइँर्‍याइँ

यो क्याम्पसको स्थापनाकालमा चर्चित व्यापारिक घरानाका विहारीलाल खेतानले पञ्चायतकालमा ६ कठ्ठा १२ धुर जग्गामा एकतले भवन बनाउन ढुंगा, बालुवा, इँटा र सिमेन्टजस्ता जिन्सी सामग्री दान गरेका थिए। अल्पायुमै मृत्यु भएका आफ्ना छोरा हरिलाल (हरि) खेतानको सम्झनामा विहारीलालले क्याम्पसको नामकरण गराएका थिए। विहारीलालका दुई छोराहरू हरि खेतान र मोहनगोपाल खेतान हुन्। हाल क्याम्पस कब्जा गरेको आरोप लागेका प्रेमप्रकाश खेतान तिनै हरिका छोरा हुन् भने देशका चर्चित व्यवसायी राजेन्द्र खेतान मोहनगोपालका छोरा (प्रेमप्रकाशका भाइ) हुन्। यद्यपि, यो क्याम्पसको विवाद र कब्जा प्रकरणमा राजेन्द्र खेतानको भने कुनै किसिमको संलग्नता पुष्टि भएको छैन।

स्थानीय स्रोतका अनुसार, अल्पायुमा मृत्यु भएका पारिवारिक सदस्यको नाममा क्याम्पसको नाम राखिनु र तत्कालीन समयमा सामान्य चन्दा दिनुबाहेक क्याम्पसको प्राज्ञिक (Academic) विकासमा खेतान परिवारको कुनै योगदान छैन। तर, अहिले तिनै बाजेको विरासतको आडमा प्रेमप्रकाशले संस्थामाथि पारिवारिक एकाधिकार चलाउन खोजेका छन्।


अर्बौँको सम्पत्ति र ११ करोड नगदमा आँखा

कुनै समय आर्थिक रूपमा सामान्य रहेको यो सामुदायिक क्याम्पस हाल ठुलो आर्थिक साम्राज्यमा परिणत भइसकेको छ। क्याम्पसको नाममा हाल निम्न सम्पत्तिहरू छन्:

जग्गा र भवन

गुठी संस्थान (अलखिया मठ) को ६ कठ्ठा १२ धुर जग्गामा पुरानो मूल भवन रहेको छ भने क्याम्पसले आफ्नै कमाइबाट आदर्शनगर पानीट्याङ्की नजिकै ८ कट्ठा जग्गा किनेर नयाँ भवन निर्माण गरिरहेको छ।

नगद मौज्दात

क्याम्पसको नाममा हाल विभिन्न बैंक खाताहरूमा करिब ११ करोड रुपैयाँ नगद मौज्दात छ।

सवारी साधन

विद्यार्थी ओसारपसारका लागि क्याम्पसका आफ्नै बसहरू सञ्चालित छन्। यही अर्बौँको भौतिक सम्पत्ति र ११ करोड नगद पड्काउने नियतका साथ प्रेमप्रकाश खेतानले २०७८ जेठमै पदावधि सकिए पनि पद छाड्न मानेका छैनन्। उनले आफ्नो एकल हस्ताक्षरमा विधान संशोधन गरी क्याम्पसलाई निजी सरह बनाएका छन्, जसलाई विश्वविद्यालय अनुदान आयोग (UGC) ले अवैध घोषित गर्दै क्याम्पसको सरकारी अनुदान समेत रोक्का गरिसकेको छ।


प्रेमप्रकाशको इशारामा आर्थिक साँचो कर्मचारी र भेन्डर मर्कामा

क्याम्पस स्रोतका अनुसार, हाल क्याम्पस पूर्ण रूपमा प्रेमप्रकाश खेतानको इसारा र निर्देशनमा चलिरहेको छ। उनकै निर्देशनमा मात्र बैंकको चेक काटिन्छ। क्याम्पसका कर्मचारी र प्राध्यापकहरूलाई तलब बाँड्ने काम र क्याम्पसका सामान आपूर्ति गर्ने 'भेन्डर' (Suppliers) हरूलाई भुक्तानी गर्ने काम प्रेमप्रकाशका आफ्नै निजी मान्छेहरूले गर्ने गरेका छन्। क्याम्पसको राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक लिमिटेड र लक्ष्मी बैंक (हाल लक्ष्मी सनराइज) मा रहेका खाताहरू सञ्चालक समिति सदस्य सुनील खेतान र निमित्त क्याम्पस प्रमुख किशोरी रायले सञ्चालन गर्छन्। सुनील खेतान र क्याम्पस प्रमुख राय दुवै प्रेमप्रकाशकै निकट मान्छे हुन्। "सुनील खेतान क्याम्पसमा जहिले पनि उपलब्ध हुँदैनन्, जसका कारण चेकमा हस्ताक्षर हुन पाउँदैन। समयमा न त कर्मचारीले तलब पाउँछन्, न त सामान आपूर्ति गर्ने भेन्डरहरूले भुक्तानी नै पाउँछन्," क्याम्पसका एक कर्मचारीले दुखेसो पोखे।

प्रयोगशाला र शैक्षिक सामग्रीको अभाव, आपूर्तिकर्ता रुष्ट

क्याम्पस प्रशासनको यस्तो लाचारी र आर्थिक लापरबाहीका कारण क्याम्पसको दैनिक पठनपाठन समेत प्रभावित हुन थालेको छ। क्याम्पसका लागि आवश्यक पर्ने किताब, ल्याब (प्रयोगशाला) का सामग्री, स्टेसनरी र नयाँ भवन निर्माणका लागि सामान दिने आपूर्तिकर्ताहरूले समयमा भुक्तानी नपाउँदा अहिले सामान पठाउनै आनाकानी गर्न थालेका छन्। हजारौँ विद्यार्थी र सयौँ प्राध्यापक एवं कर्मचारी आबद्ध रहेको यो ऐतिहासिक सामुदायिक संस्थालाई एउटा गैरकानुनी सञ्चालक समितिले बन्धक बनाउँदा वीरगन्जको शैक्षिक क्षेत्र नै बदनाम हुन पुगेको छ। वीरगन्जको मुख्य व्यापारिक लोकेसनमा रहेको अर्बौँको भूमि र करोडौँको कोषलाई निजी सम्पत्ति सरह उपभोग गर्ने खेतान समूहको यो हर्कतविरुद्ध अब स्थानीय समुदाय र नियामक निकायले कस्तो कदम चाल्छ, त्यो भने हेर्न बाँकी नै छ।