एसिया–प्रशान्त क्षेत्रमा बढ्दो सैन्य गतिविधिका बीच रुसले जापानको नीतिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसले क्षेत्रीय स्थिरतामा असर पार्न सक्ने संकेत दिएको छ।
रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले जापानले आफ्नो इतिहासबाट पाठ सिक्दै शान्तिवादी संविधानका प्रावधानहरूलाई कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिनुभएको छ। नियमित पत्रकार सम्मेलनमा उहाँले जापानले क्रुज मिसाइलजस्ता आक्रमणकारी क्षमताका हतियार खरिद गर्दै गएको उल्लेख गर्नुभयो।
उहाँका अनुसार यस्ता हतियारलाई रक्षात्मक रूपमा मात्र व्याख्या गर्न मिल्दैन, जसले छिमेकी देशहरूको सुरक्षामा प्रत्यक्ष असर पार्न सक्छ। जापानले हाल बढाइरहेको सैन्य खर्च र आधुनिक हतियारमा लगानीले दीर्घकालीन अस्थिरता निम्त्याउने सम्भावना रहेको रुसको ठहर छ।
रुसले यसअघि पनि यस्ता गतिविधिप्रति बारम्बार आपत्ति जनाउँदै आएको बताउँदै यी नीतिहरूले क्षेत्रीय मात्र होइन, विश्वव्यापी स्थिरतामा समेत नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको छ। यसले एसिया–प्रशान्त क्षेत्रमा तनाव बढाउनुका साथै हतियार प्रतिस्पर्धाको नयाँ चरण सुरु हुनसक्ने संकेत गरेको छ।
रुसी पक्षले यदि आफ्नो भूभागमा नयाँ प्रकारका मिसाइल खतराहरू देखा परेमा त्यसको प्रतिकार गरिने स्पष्ट पारेको छ। आफ्नो सुरक्षाका लागि आवश्यक सबै उपाय अपनाइने भन्दै रुसले आगामी अवस्थाप्रति गम्भीर सन्देश दिएको छ।