नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले कार्यभार सम्हालेको १८ घण्टा नबित्दै पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले शनिवार बिहान भक्तपुरको गुण्डुस्थित उहाँकै निवासबाट ओलीलाई नियन्त्रणमा लिएको हो।

यो नाटकीय घटनाक्रमको सिधा सम्बन्ध ओली नेतृत्वको तत्कालीन सरकारका पालामा भएको भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग जोडिएको छ। उक्त आन्दोलनका क्रममा राज्यको तर्फबाट भएको दमनमा ७६ जना नागरिकले ज्यान गुमाएका थिए। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले सो रक्तपातपूर्ण घटनाको मुख्य जिम्मेवार ओली नै रहेको ठहर गरेको थियो।

ADVERTISEMENT Xtreme - Inside

नयाँ मन्त्रिपरिषद्ले कार्की आयोगको प्रतिवेदनलाई तत्काल कार्यान्वयन गर्ने निर्णय गरेलगत्तै प्रहरीले यो कदम चालेको हो। पूर्वप्रधानमन्त्री जस्तो उच्च ओहोदामा रहेका व्यक्तिलाई ७६ जनाको मृत्युको दोषी ठहर्‍याउँदै गरिएको यो पक्राउले मुलुकमा दण्डहीनता अन्त्यको नयाँ बहस छेडिदिएको छ। यस घटनाले आगामी दिनमा नेपालको राजनीति र कानुनी प्रणालीमा कस्तो असर पार्छ भन्ने सर्वत्र चासोको विषय बनेको छ।