काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्ने तयारी भइरहेको खबरले यतिबेला राजनीतिक वृत्त र सामाजिक सञ्जालमा तताएको छ। स्रोतका अनुसार आज राति नै उहाँलाई पक्राउ गर्ने गरी तयारी भइरहेको बुझिएको छ।

​यसै सन्दर्भमा पूर्वसचिव भीम उपाध्यायले सामाजिक सञ्जालमा अर्थपूर्ण टिप्पणी गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई राति पक्राउ गरिएको घटनालाई संकेत गर्दै उहाँले प्रश्न उठाउनुभएको छ। उपाध्यायले लेख्नुभएको छ, "रास्वपा अध्यक्ष रातमा रवि पक्राउ गर्न हुने, एमाले अध्यक्ष ओली दिउँसो पक्राउ गर्न नहुने हो र?" उहाँको यो भनाइसँगै ओलीको पक्राउबारे चलिरहेको चर्चाले थप बल पाएको छ।

ADVERTISEMENT Xtreme - Inside

​यस विषयमा आधिकारिक पुष्टिका लागि नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबि नारायण काफ्लेलाई पटक–पटक टेलिफोन सम्पर्क गर्दा पनि उहाँको फोन उठेन। प्रहरीको उच्च नेतृत्वबाट हालसम्म यस विषयमा कुनै पनि औपचारिक जानकारी वा खण्डन सार्वजनिक गरिएको छैन।

​प्रहरीको मौनता र नेताहरूको अर्थपूर्ण टिप्पणीका बीच सामाजिक सञ्जालमा भने ओलीलाई पक्राउ गर्न लागिएको भन्दै व्यापक हल्ला र अडकलबाजी चलिरहेको छ। रातिको समयमा हुन सक्ने सम्भावित राजनीतिक र सुरक्षा घटनाक्रमलाई लिएर सर्वसाधारण र राजनीतिक कार्यकर्ताहरूले चासोका साथ हेरिरहेका छन्।