बढ्दो विश्वव्यापी ऊर्जा मूल्य र आपूर्ति अवरोधका कारण उत्पन्न इन्धन संकटलाई नियन्त्रण गर्न लाओस सरकारले तत्काल प्रभावका उपायहरू लागू गरेको छ, जसले उपभोक्ता र व्यवसायमा पर्ने असर कम गर्ने लक्ष्य राखेको छ।

लाओ उद्योग तथा वाणिज्य मन्त्रालयका अनुसार, आन्तरिक मूल्य वृद्धि रोक्न इन्धनमा लाग्ने अन्तःशुल्क घटाइएको छ। पेट्रोलमा लाग्ने कर २५ प्रतिशतबाट १५ प्रतिशतमा झारिएको छ भने डिजेलमा लाग्ने कर १० प्रतिशतबाट शून्य प्रतिशतमा झारिएको छ।

सरकारले अनुदान कार्यक्रममार्फत मूल्य स्थिर राख्न र उपभोक्तामाथिको आर्थिक भार कम गर्न आवश्यक स्रोत विनियोजन गर्ने जनाएको छ। आयातकर्ता र वितरकहरूले स्थिर आपूर्ति कायम राख्ने प्रतिबद्धता जनाएका छन् भने दुर्गम क्षेत्रमा भण्डारण तथा वितरण विस्तार गर्ने योजना अघि सारिएको छ।

प्रधानमन्त्रीको कार्यालयले मार्च १३ मा मन्त्रालयहरूलाई इन्धन खपत घटाउने तथा आर्थिक स्थिरता सुदृढ गर्ने उपाय लागू गर्न निर्देशन दिएको छ। यसअन्तर्गत आलोपालो काम, भर्चुअल बैठकको प्रयोग, अनावश्यक यात्रा नियन्त्रण तथा लागत कटौतीका उपायहरू समावेश छन्।

अधिकारीहरूले इन्धन आपूर्ति प्रणालीको अनुगमन, ऊर्जा संरक्षण प्रवद्र्धन, विद्युतीय सवारी पूर्वाधार विस्तार तथा प्रमुख वस्तुहरूको मूल्य निगरानीलाई प्राथमिकता दिएका छन्। सार्वजनिक यातायातको प्रयोगलाई प्रोत्साहन गरिएको छ।

इन्धन अभाव समाधानका लागि राजधानी भियन्टियानमा घुम्ती सेवा सुरु गरिएको छ भने चम्पासक प्रान्तमा निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको छ। इन्धन अवस्था स्थिर नभएसम्म यी उपायहरू जारी रहने जनाइएको छ।

प्रधानमन्त्री कार्यालयका प्रमुख बुवाखोङ नाम्माभोङले मध्यपूर्वको द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा बजार प्रभावित भएको र त्यसको असर लाओसमा पनि देखिएको बताउनुभएको छ। संकट व्यवस्थापनका लागि विशेष समिति गठन गरी विभिन्न सुधारात्मक उपायहरू लागू गरिएको उहाँले उल्लेख गर्नुभयो।