काठमाडौँ। सुनसरीको देवानगञ्जमा गोलक कार्यकर्ताहरूमाथि भएको बर्बर दमनको विरोधमा विभिन्न माग राख्दै काठमाडौँको माइतीघरमा आमरण अनशनमा बसेका विनय यादवको जीवन रक्षाका लागि शीर्ष मधेसी नेताहरूले सरकारसँग अपिल गरेका छन्।
सद्भाव र समर्थन जनाउन माइतीघरस्थित अनशन स्थल पुग्नुभएका राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनता समाजवादी पार्टीका वरिष्ठ उपाध्यक्ष राजकिशोर यादव, नेता सन्तोष मेहता र किशोर गुरुले संयुक्त रूपमा ऐक्यबद्धता जनाउँदै यादवको जीवन रक्षा र माग सम्बोधनका लागि राज्यको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।
अनशन स्थलमै नेताहरूद्वारा हस्ताक्षरित संयुक्त अपिलमा भनिएको छ:
"सुनसरी देवानगञ्जमा गोलक कार्यकर्ताहरू उपर भएको बर्बर दमन विरुद्ध विभिन्न माग राखी विनय यादवले गर्नुभएको आमरण अनशनप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। उहाँको जीवन रक्षाको निम्ति र उहाँले उठाउनुभएको मागप्रति राज्य सरकार संवेदनशील भएर वार्ता र संवादमार्फत समस्याको समाधान गर्न अनुरोध गर्दछौँ।"

अनशनरत यादवको स्वास्थ्य स्थिति जटिल बन्दै गएको प्रति चिन्ता व्यक्त गर्दै नेताहरूले सरकारले तत्काल रूपमा वार्ता टोली गठन गरी समस्याको निकास खोज्नुपर्नेमा जोड दिएका छन्। नागरिकका न्यायोचित मागहरूलाई बेवास्ता नगरी संवादको माध्यमबाट निकास निकाल्नु नै लोकतान्त्रिक राज्यको दायित्व भएको उहाँहरूको भनाइ थियो।