सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले विगतमा मन्त्रालयका बन्द कोठाभित्र 'सेटिङ' मिलाएर राज्यलाई नोक्सान पुर्‍याउनेहरूलाई कारबाहीको दायरामा ल्याउने तयारी भइरहेको बताउनुभएको छ। जनताले दिएको म्याण्डेट नै भ्रष्टाचार र बेथितिको अन्त्य गर्नु रहेकाले सरकार सोही दिशामा अगाडि बढेको उहाँको भनाइ छ।

रेडियो नेपालको ७६ औं वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मन्त्री तिमिल्सिनाले मुलुकको राजनीति अहिले सफा भएको र सरकार पूर्ण रूपमा जवाफदेही बनेको दाबी गर्नुभयो। उहाँले अब कुनै पनि प्रकारको गलत काम स्वीकार्य नहुने र विगतका गल्तीहरूलाई सुक्ष्म ढङ्गले नियालिरहेको स्पष्ट पार्नुभयो।

मन्त्री तिमिल्सिनाका अनुसार सरकार अहिले कामको अत्यधिक चापमा छ। उहाँले सार्वजनिक कार्यक्रममा समय बिताउनु भन्दा परिणाममुखी काममा केन्द्रित हुन चाहेको उल्लेख गर्दै सरकार पारदर्शी ढङ्गले अघि बढ्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सरकारी निकायहरूमा विगतदेखि रहेका पेन्सन र उपदानका समस्याहरू राजनीतिक बेथितिकै उपज भएको टिप्पणी गर्नुभयो।

ADVERTISEMENT Nepal Aaja Register

कर्मचारीहरूलाई निर्देशन दिँदै उहाँले निष्कलङ्क र इमानदार भएर काम गर्न आग्रह गर्नुभयो। पाँच वर्षपछि आफ्नो कार्यकाल फर्किएर हेर्दा गर्व गर्न सकिने गरी र नयाँ पुस्तामा आशा जगाउने गरी कार्यसम्पादन गर्न उहाँले सबैमा आह्वान गर्नुभएको छ।

सरकारको यो कदमले आगामी दिनमा प्रशासनिक क्षेत्रमा रहेको 'सेटिङ' को जालो तोडिने र सुशासन कायम हुने अपेक्षा गरिएको छ।