गृहसचिव राजकुमार श्रेष्ठले नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई सोमबार मन्त्रालयमा आयोजित विशेष समारोहमा दज्र्यानी चिन्ह प्रदान गर्नुभएको छ। मन्त्रिपरिषद्को गत बैशाख १४ गतेको निर्णयअनुसार पौडेललाई संगठनको सर्वोच्च पदमा पदोन्नति गरिएको हो।

समारोहका क्रममा गृहसचिव श्रेष्ठले नयाँ नेतृत्वलाई बधाई दिँदै व्यावसायिक दक्षता वृद्धिमा जोड दिन निर्देशन दिनुभयो। उहाँले सशस्त्र प्रहरी बलभित्र सरुवा र बढुवा प्रणालीलाई निष्पक्ष र अनुमानयोग्य बनाउन सके कर्मचारीमा हुने असन्तुष्टि कम हुने विश्वास व्यक्त गर्नुभयो।

विपद् व्यवस्थापनका क्षेत्रमा सशस्त्र प्रहरीको भूमिका महत्त्वपूर्ण रहने चर्चा गर्दै सचिव श्रेष्ठले आगामी मनसुनजन्य जोखिमका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभयो। सीमित स्रोतसाधनका बाबजुद 'बर्ड' (BIRD) अवधारणामा रहेर सशस्त्रले उत्कृष्ट नतिजा दिइरहेको उहाँको भनाइ थियो।

पदभार ग्रहणको औपचारिक कार्यक्रममा महानिरीक्षक पौडेलले देश र जनताका लागि बलिदान दिने अमर सशस्त्र प्रहरी र संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठको योगदानको स्मरण गर्नुभयो। उहाँले आफ्नो कार्यकालमा सीमा सुरक्षालाई थप सुदृढ बनाउने संकल्प गर्नुभयो।

महानिरीक्षक पौडेलले संगठनलाई कुनै व्यक्तिको इच्छामा नभई स्थापित नीति र नियमको आधारमा सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले सशस्त्र प्रहरीको कार्यक्षेत्रसँग जोडिएका विभिन्न ऐनहरूको समयानुकूल परिमार्जन र आधुनिकीकरणका लागि सरकारसँग सहयोगको अपेक्षा राख्नुभएको छ।

उक्त अवसरमा प्रहरी महानिरीक्षक, पूर्व महानिरीक्षकहरू तथा गृह मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो। अबको नेतृत्वले १०० बुँदे शासकीय सुधार योजनालाई कार्यान्वयन गर्दै सेवा प्रवाहलाई थप जनउत्तरदायी बनाउने लक्ष्य लिएको छ।