नेपालका विभिन्न भूभागमा आगामी मङ्गलबारदेखि एक साताभन्दा बढी समयसम्म झरी पर्ने सम्भावना देखिएपछि किसान तथा सर्वसाधारणलाई पूर्वतयारी र सतर्कता अपनाउन आग्रह गरिएको छ। बङ्गालको खाडीमा विकसित निम्न चापको प्रभावका कारण देशका केही स्थानमा असिनासहित भारी वर्षा हुन सक्ने अनुमान मौसमविद्हरूले गरेका छन्।

मौसमविद् डा. विनोद पोखरेलका अनुसार चारवटा मौसम पूर्वानुमान नमुनाको औसत विश्लेषण गर्दा आगामी साताभर वर्षा हुने सङ्केत मिलेको छ। यद्यपि, कुन क्षेत्रमा कति मात्रामा वर्षा हुन्छ भन्ने विषयमा पूर्वानुमान नमुनाहरू फरक-फरक रहेकाले आगामी दिनमा मौसमको अवस्थामा परिवर्तन आउन सक्ने सम्भावना कायमै छ।

ADVERTISEMENT Nepal Aaja Register

यस सम्भावित वर्षाले बाली भित्र्याउने तयारीमा रहेका किसानलाई प्रत्यक्ष असर पार्ने देखिन्छ। मङ्गलबारपछि धान काट्ने योजना बनाएका किसानलाई सम्भव भएसम्म मङ्गलबारअघि नै धान काटेर सुरक्षित स्थानमा राख्न वा वर्षा रोकिएपछि मात्र कटानी सुरु गर्न सुझाव दिइएको छ।

यसैगरी, प्रतिकूल मौसमका कारण हिमाली क्षेत्रमा यात्रा तथा पदयात्रा जोखिमपूर्ण हुन सक्ने भन्दै यात्रीहरूलाई सावधानी अपनाउन भनिएको छ। मौसमसम्बन्धी अध्यावधिक आधिकारिक सूचना निरन्तर अनुगमन गर्दै सम्भावित भौतिक तथा आर्थिक क्षति न्यूनीकरण गर्न सम्बन्धित सबै पक्ष सजग रहनुपर्ने देखिन्छ।