काठमाडौँ, ११ मंसिर — गण्डकी प्रदेश अन्तर्गत मुस्ताङ जिल्लाको लोमन्थाङ गाउँपालिका–२ स्थित श्री दिव्य दीप माध्यमिक विद्यालयको नवनिर्मित छात्रावास भवनको बिहीबार संयुक्त रूपमा उद्घाटन गरिएको छ।

काठमाडौँस्थित भारतीय राजदूतावासका नियोग उप-प्रमुख डा. राकेश पाण्डे र लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले उक्त भवनको उद्घाटन गर्नुभएको हो। उच्च प्रभाव सामुदायिक विकास परियोजना अन्तर्गत अघि बढाइएको यस भवनको निर्माण लोमन्थाङ गाउँपालिकामार्फत कार्यान्वयन गरिएको हो।

सिकाइ वातावरणमा सुधार हुने विश्वास

कार्यक्रममा लोमन्थाङ गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारले प्रदान गरेको विकास सहयोगको प्रशंसा गर्नुभयो। उहाँहरूले नयाँ पूर्वाधारले गाउँपालिकाका विद्यार्थी तथा शिक्षकहरूका लागि सिकाइको वातावरण सुधार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।

गण्डकी प्रदेशमा भारतीय सहयोगको विवरण

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रम सुरु भएयता हालसम्म भारत सरकारद्वारा नेपालका सातवटै प्रदेश समेट्ने गरी ६०५ वटा परियोजनाहरू अघि बढाइएका छन्। तीमध्ये मुस्ताङ जिल्लाका १८ वटा परियोजनासहित गण्डकी प्रदेशमा ६४ वटा परियोजना रहेका छन्।

यसका अतिरिक्त भारत सरकारले गण्डकी प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थाहरूलाई १२६ वटा एम्बुलेन्स र ५२ वटा स्कुल बस उपहारस्वरूप प्रदान गरेको छ। जसमा मुस्ताङ जिल्लाका ११ वटा एम्बुलेन्स र ६ वटा स्कुल बस समावेश रहेको भारतीय राजदूतावासद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक तथा बहुक्षेत्रीय सहकार्य रहेको र यस्ता परियोजनाले प्राथमिकताका क्षेत्रहरूमा पूर्वाधार विस्तार गर्न नेपाल सरकारको प्रयासलाई सुदृढ पार्ने दूतावासले जनाएको छ।