अटिजम, बौद्धिक तथा शारीरिक अपाङ्गता भएका बालबालिकालाई शिक्षाको मूलधारमा समेट्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले अनामनगरमा विशेष विद्यालय तथा रिसर्च सेन्टरको निर्माण कार्य अघि बढाएको छ। महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले बुधबार काठमाडौं-२९ अनामनगरमा उक्त भवनको शिलान्यास गरेकी हुन्।

शिलान्यास कार्यक्रममा बोल्दै कार्यवाहक मेयर डंगोलले प्रत्येक बालबालिकालाई सम्मानपूर्वक बाँच्न, खेल्न र पढ्न पाउने बराबर अधिकार रहेको बताइन्। उनका अनुसार यो शिलान्यास केवल एउटा भौतिक संरचनाको सुरुवात मात्र नभई मानवता, करुणा, समावेशिता र समतामूलक समाज निर्माणको एउटा महत्वपूर्ण खुड्किलो हो।

वडा कार्यालयको प्रशासनिक भवनको पूर्वतर्फ कुल १८ हजार ५०० वर्गफिट क्षेत्रफलमा निर्माण हुने यो भवन पाँच तलाको हुनेछ। आठ जना क्षमताको लिफ्टसहितको अपाङ्गतामैत्री संरचनामा बन्ने उक्त भवनमा तालिम तथा प्रशिक्षण कक्ष, अनुसन्धान कक्ष, प्रशासनिक कक्ष, खेल्ने खुला स्थान र भूमिगत पार्किङको व्यवस्था रहनेछ।

महानगरपालिकाका अनुसार भवन निर्माणका लागि ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपैयाँमा ठेक्का सम्झौता भइसकेको छ। आगामी २०८४ चैत मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस केन्द्रबाट बालबालिकाको सीप र ज्ञान अभिवृद्धिका साथै अध्ययन, अनुसन्धान र अभिभावकलाई आवश्यक सहयोगसमेत उपलब्ध गराइनेछ।

निजी संस्थामा महँगो शुल्क तिरेर सन्तानको हेरचाह र शिक्षा दिलाउन बाध्य अभिभावकहरूले महानगरको यस कदमले ठूलो राहत मिल्ने भन्दै खुसी व्यक्त गरेका छन्। अटिजम केयर नेपाल र विशेष स्कूल तथा पुनःस्थापना केन्द्रलगायतका सरोकारवाला संस्थाका प्रतिनिधिहरूको समेत उपस्थिति रहेको यस परियोजनाको निर्माण अब तीव्र गतिमा अघि बढ्नेछ।